काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सुरु हुन लागेको संसद्को बजेट अधिवेशनमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति रवि लामिछानेलाई बोल्न दिने निर्णय गरेको छ ।
आज बिहान बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको जनाइएको छ । कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि नै आरोप लागेपछि संसदीय छानबिन समिति बनाउनु पर्ने अडान राख्दै आएको छ । यो अधिवेशनमा समेत सरकारले छानबिन समिति गठन नगरे संसद् पूर्णरुपमा ठप्प पार्ने कांग्रेसले चेतावनी दिँदै आएको थियो ।
बुधबार बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले सहकारी ठगी प्रकरणमा थप कडा रूपमा प्रस्तुत हुने रणनीतिसमेत बनाएको थियो । आज बस्ने बैठकमा भने गृहमन्त्री लामिछानेलाई पार्टी सभापतिका हैसियतले सदनमा बोल्न दिन कांग्रेस तयार भएको हो ।