प्रधानमन्त्री दाहाल : कार्यकारी प्रमुख कि विद्रोही नेता ?

गैरजिम्मेवार बोली, पछिल्ला अभिव्यक्तिमा छैन लगाम
अराजनीतिक अभिव्यक्तिलाई सार्वजनिक कसुर मान्न सकिन्छ : संविधानविद्
वैशाख २७, २०८१ |अञ्जना लामिछाने
प्रधानमन्त्री दाहाल : कार्यकारी प्रमुख कि विद्रोही नेता ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल देशको कार्यकारी प्रमुख कि विद्रोही नेता ? पछिल्लो समयका उहाँका केही अभिव्यक्ति यस्ता छन् कि- सुन्दा उहाँ प्रधानमन्त्री कि विद्रोही नेता भनेर छुट्याउन गाह्रो हुन्छ ।

मुलुककै प्रमुख कार्यकारी दाहालले सार्वजनिक कार्यक्रमहरुमै आफ्नाविरुद्ध संगठित हुनेहरुलाई खुलेआम चेतावनी दिने गर्नुभएको छ । कानुनका जानकारहरुका अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले कानुनविपरीत अभिव्यक्ति दिन मिल्दैन । तर, प्रधानमन्त्री दाहालका केही अभिव्यक्ति राजनीतिक रुपमा अमर्यादित मात्रै नभई सार्वजनिक कसुरका विषयसमेत भएको कानुनका जानकार बताउँछन् ।

२०६४ पुस ८ गते माओवादी केन्द्रका अध्यक्ष दाहालले लडाकु शिविरमा रहेका सेनाको संख्याबारे बोलेको विवादास्पद भनाइलाई लिएर उहाँलाई जिम्मेवार बनाउने काम कहिल्यै भएन । अहिले पनि उहाँले जसपा नेपाल आफैंले फुटाएको घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले बुधबार सिन्धुली पुगेर सरकार टिकाउनकै लागि आफूहरुले जनता समाजवादी पार्टी नेपाललाई फुटाएको घोषणा गर्नुभयो । त्यो पूरै विजय उल्लासमा हाँसी-हाँसी । कार्यकर्तासँगको भेटमा उहाँले सरकारलाई जसरी पनि पूरै अवधि टिकाउने उद्देश्यले अनेक गरेर पार्टी फुटाइदिएको दाबी गर्नुभयो ।

गत फागुन २१ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले आफू रहुन्जेल देशमा उथलपुथल गरिरहने अभिव्यक्ति दिनुभयो । उथलपुथल गरिरहने दाहालको अभिव्यक्तिमा कार्यकर्ताले ताली बजाएर समर्थन जनाए ।

प्रधानमन्त्री दाहाल यत्तिमै रोकिनु भएन, आफूविरुद्ध उत्रनेलाई लात्ताले हानेर उछिट्याइदिने र उनीहरुको हिसाब-किताब गर्नेसम्मको चेतावनी दिन पनि भ्याउनुभयो ।

त्यसो त प्रधानमन्त्री दाहालले २०७६ माघ १ गते थारु राष्ट्रिय माघी उत्सवमा सशस्त्र विद्रोहका क्रममा मारिएकामध्ये पाँच हजारको आफूले जिम्मा लिने घोषणा गर्नुभएको थियो । जुन कानुनी नजरमा सरासर गलत हो र अदालतमा प्रमाण लाग्ने कुरा हो ।

प्रधानमन्त्री दाहालले अरु पनि थुप्रै यस्ता कसुरजन्य अभिव्यक्ति दिनुभएको छ । यस्ता अभिव्यक्ति कानुनी हिसाबले अपराध भए पनि राजनीतिक रुपमा बेवास्ता गरिँदै आएको छ । संविधानविद् भीमार्जुन आचार्यका अनुसार यस्ता विषयमा अनुसन्धान गरेर मुद्दाको विषयसमेत बनाउन सकिन्छ ।

प्रधानमन्त्री दाहालका अभिव्यक्तिले कार्यकर्तालाई केही समय उत्साह भर्न सक्ला तर यस्ता अभिव्यक्ति कानुनको शासनविरुद्ध भएकाले उहाँ स्वयंलाई बेफाइदा गर्ने राजनीतिक विश्लेषक मुमाराम खनालको भनाइ छ ।

संसद्‌को तेस्रो दल रहेको माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले कांग्रेस र एमालेलाई पालैपालो उपयोग गरी १६ महिनादेखि शासन सत्ता चलाइरहनुभएको छ । उहाँ दिनहुँ सुशासन र विधिको भाषण गरिरहनुहुन्छ निर्देशन दिइरहनुहुन्छ । तर उहाँ आफैंका अभिव्यक्तिमा भने पदअनुसारको जिम्मेवारी र जिम्मेवारीअनुसारको जवाफदेहिता भेटिँदैन ।

बरु अस्थिरता र अराजकता मच्चाउने सत्ता लिप्साको विकृत भाषा मात्र भेटिन्छ ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।