काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल दलविभाजनविरुद्ध अदालत जाने भएको छ ।
पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष उपेन्द्र यादवले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने जानकारी दिनु भएको हो । दलविभाजन सम्बन्धी कानुन नै नभएका बेला यसरी दल दर्ता हुनु असंवैधानिक भएको भन्दै उहाँले आयोगको निर्णयविरुद्ध अब छिट्टै अदालत जाने तयारी भइरहेको बताउनुभयो ।
उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रीसमेत रहनुभएका अध्यक्ष यादवले आफू अमेरिका भ्रमणमा रहेका बेला प्रधानमन्त्रीलाई समेत भ्रममा पारेर व्यक्तिगत स्वार्थका लागि पार्टी फुटाइएको बताउनुभयो । दुई तिहाइभन्दा बढी नेता जसपा नेपालमै रहेको दाबी गर्दै उहाँले विभाजित भएर गएको जनता समाजवादी पार्टीलाई समेत सुध्रिएर आउन आग्रह गर्नुभयो ।
पार्टी विभाजनपछिको अवस्थाबारे छलफल गर्न अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठकसमेत बोलाउनु भएको थियो । अशोक राईको नेतृत्वमा दर्ता भएको जनता समाजवादी पार्टीलाई सोमबार नै निर्वाचन आयोगले दर्ता गरिसकेको छ ।