सदन चलाउन सभामुखको पहल- ‘हातमा लाग्यो शून्य’

वैशाख २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
सदन चलाउन सभामुखको पहल- ‘हातमा लाग्यो शून्य’

काठमाडौं । सदनलाई प्रभावकारी बनाउने पहिलो दायित्व सभामुखकै हो । तर, बजेट अधिवेशन सुरु हुन जम्मा दुई दिन बाँकी रहँदा सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका शीर्ष नेतासहितको बैठक ‘हातमा लाग्यो शून्य’ भन्दा अरु केही भएन ।

यही बैठक २ वा ३ साताअघि भएको भए थप छलफल गरेर संसद्‌को आउँदो बजेट अधिवेशन चल्ने/नचल्ने अन्योल हटाउन सकिने थियो । स्वयं प्रधानमन्त्रीसँगै सदनको अवरोध खोल्नेबारे सभामुखले परामर्श गर्न सक्नुहुन्थ्यो । तर विधेयक अधिवेशनदेखि विरोध चलिरहे पनि उल्झन फुकाउन र सदन कसरी चल्छ भन्ने अन्योल चिर्न फेरि पनि उहाँ असफल हुनुभयो ।

विधेयक अधिवेशन अन्त्य भएको वैशाख २ देखि बजेट अधिवेशन सुरु हुने वैशाख २८ को बीचमा २६ दिन थिए । अधिवेशन अन्त्यकै बखतमा प्रतिपक्षी दल नेपाली कांग्रेसले भनेकै थियो- हाम्रो माग पूरा नभइ सदन सहज रुपमा चल्न सक्दैन । बजेट अधिवेशन जुन दिन सुरु हुन्छ, त्यसैदिनबाट फेरि आवाज उठाउँछौं ।

सदन चलाउन सभामुखको फितलो पहल

विपक्षीको यो अडानबारे त्यसैदिनबाट सभामुखले परामर्श सुरु गर्नुपर्थ्यो । तर उहाँले यसपटक पनि अन्तिम समयमा छलफल राख्नुभयो । अब अर्को बैठक राख्न समय पनि छैन । त्यति मात्रै हैन, सभामुखले फेरि संसद्‌को अन्योलको दोष दलहरुलाई नै देखाउनुभयो । सदनलाई प्रभावकारी बनाउने र विनाअवरोध अघि बढाउन दलहरु नै जिम्मेवार हुनुपर्ने भनेर उहाँ आफू जिम्मेवारीबाट विमुख हुन खोज्नुभएको देखाउँछ ।

सदन प्रभावकारी बनाउन अघिल्लो अधिवेशनमा आफ्ना तर्फबाट के कमजोरी भए त्यो यसपटक सुधार्न प्रयास गरेको भए परिणाम देखिन्थ्यो होला । तर उहाँको पहल फितलो भयो । यसको सीधा असर प्रतिनिधिसभाको आउँदो बैठकमा पर्ने निश्चितप्राय: छ ।

यो पनि...

दलहरुको हठले संसद चल्ने/नचल्ने अन्योल

गृहमन्त्री रवि लामिछानेको माग- सदनमा बोल्न पाउँ

सदनको गतिरोध हटाउने विषयमा सभामुख र पाँच दलका शीर्ष नेताहरुबीचको बैठक निष्कर्षविहीन

गृहमन्त्रीमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउनु पर्ने कांग्रेसको अडान कायमै


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.