काठमाडौं । सत्तारुढ तथा प्रतिपक्षी दलहरु आ-आफ्नो अडान नछाडेपछि सदनको गतिरोध हटाउने विषयमा आज बसेको पाँच दलका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन भएको छ । वैशाख २८ गतेका लागि बोलाइएको सदन व्यवस्थित र बिना गतिरोध सञ्चालन गर्ने विषयमा आज सभामुख देवराज घिमिरेले सत्ता र विपक्षी पाँच दलको बैठक बोलाउनुभएको हो ।
बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति गठनको अडान दोहोर्याएको थियो। सत्तारुढ दलहरु नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो अडान दोहोर्याएका थिए । कांग्रेसको मागअनुसार व्यक्तिकेन्द्रित भएर छानबिन समिति गठनमा सहमत हुन नसकिने सत्तारुढ दलको भनाइ छ ।
सभामुख घिमिरेले भने सदनलाई प्रभावकारी बनाउने र विना अवरोध अघि बढाउन दलहरु नै जिम्मेवार हुनुपर्ने बताउनुभयो । गृहमन्त्री लामिछानेले आगामी संसद बैठकमा आफूले आफ्ना विषयमा उठेका विषयमा बोल्न पाउनु पर्ने माग राख्दै संसद् सचिवालयमा पत्रसमेत दर्ता गराउनु भएको छ ।
लामिछानेले ५ दलको बैठकमा पनि आफ्ना संसदमा बोल्न दिन प्रमुख प्रतिपक्षी कांग्रेससँग आग्रह गर्नुभएको थियो । संसद्को हिउँदे अधिवेशनमा पनि कांग्रेसले सहकारी बचत अपचलनमा संसदीय छानबिन समिति गठनको माग राख्दै अवरोध गरेको थियो । संविधान र कानुनभन्दा माथि कोही नरहेकाले छानबिन समितिबाट टुंगोमा पुग्नुपर्ने कांग्रेसको माग छ।