सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत नदिन एमाले अध्यक्ष ओलीको निर्देशन

वैशाख २३, २०८१ |टेकराज जोशी
 सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत नदिन एमाले अध्यक्ष ओलीको निर्देशन

धनगढी। सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजवादीका पछिल्ला अभिव्यक्तिलाई हेरेर सुदूरपश्चिममा दीर्घ सोडारी नेतृत्वको सरकारलाई तत्काल विश्वासको मत नदिने बताउनुभएको हो ।

अध्यक्ष ओलीसँग सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक सुरेन्द्र पालले गए राति ओली निवासमा भेटेर विश्वासको मत दिने/नदिने विषयमा छलफल गर्नुभएको थियो । छलफलमा अध्यक्ष ओलीले विश्वासको मत नदिनका लागि नेताहरुलाई निर्देशन दिनुभएको थियो ।  'छलफलका क्रममा ओलीले विश्वासको मत दिने विषयमा हतार नगर्न भन्नुभएको छ,' एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावलले भन्नुभयो ।

समाजवादीका पछिल्ला अभिव्यक्ति नसच्याएसम्म विश्वासको मत नदिने अध्यक्ष ओलीको भनाइ छ । यसअघि शुक्रबार र शनिबार विश्वासको मत लिनका लागि मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश सभा बैठक बोलाउनुभएको थियो । तर बैठकमा एमालेले उपस्थित नहुने भएपछि अनिश्चितकालका लागि बैठक स्थगित गरिएको छ ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।