विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका राजासँग राष्ट्रपति पौडेलको आग्रह

वैशाख ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका राजासँग राष्ट्रपति पौडेलको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपछि बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाका लागि पहल गरिदिन कतारका राजा शेख तामिम विन हमद अल थानीसमक्ष आग्रह गर्नुभएको छ ।

दुईदिने राजकीय भ्रमणमा आजै अपराह्न काठमाडौं आइपुग्नु भएका कतारका राजासँगको भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले उक्त आग्रह गर्नुभएको हो । जवाफमा कतारका राजाले यसबारेमा आफूले विगतमा पनि चासो लिएर पहल गरेको र अब पनि थप पहल गर्ने बताउनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणमा आउनुभएका कतारका राजा अल थानीलाई राष्ट्रपति पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । उहाँलाई विमानस्थलमा सांस्कृतिक झाँकीसहित स्वागत गरिएको हो । कतारका राजाको स्वागतमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी अर्पण गरेको थियो ।

कतारका राजाको स्वागतका लागि राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत उच्चपदस्थ अधिकारीहरु विमानस्थल पुग्नुभएको थियो ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आजै भएको भेटवार्तामा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाल जोगाउने, पानीका स्रोत बचाउने र वातावरण सन्तुलनमा राख्नेजस्ता साझा चासोका मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गर्नुभएको थियो ।

कतारका राजा अल थानीले पनि जलवायु परिवर्तनको असर न्यूनीकरण सम्बन्धी सम्झौताको सबै मिलेर पालना गरे राम्रो परिणाम आउने बताउनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । उहाँले कतारको विकासमा नेपालीको ठूलो योगदान रहेको भन्दै प्रशंसासमेत गर्नुभएको थियो ।

भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा तथा जलस्रोतमन्त्री शक्ति वस्नेत, परराष्ट्र सचिव सेवा लम्साललगायतको सहभागिता थियो ।

बंगलादेशको राजकीय भ्रमण सम्पन्न गरी कतारका राजा मंगलबार अपराह्न विशेष विमानबाट काठमाडौं आइपुग्नुभएको हो । कतारका राजाको सम्मानमा राष्ट्रपति पौडेलले आजै सोल्टी होटेलमा राजकीय भोज आयोजना गर्नुभएको छ ।

भोलि प्रधानमन्त्री पुष्पकमल दाहालसँग औपचारिक भेटघाटपछि विभिन्न समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ । कतारका राजाको टोली भोलि नै फर्कनेछ ।

यो पनि...

कतारलाई उपहार दिन लागिएका हात्ती कस्ता ?

कतारी राजाको भ्रमणमा सार्वजनिक बिदा

कतारका राजा नेपाल भ्रमणमा आउँदा सरकारले एक जोडी हात्ती उपहार दिने

कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत

कतारका राजा थानी र राष्ट्रपति पौडेलबीच भेटवार्ता


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement