सुनकोशी-मरिण डाइभर्सन आयोजनाको सुरुङ 'ब्रेक थ्रु'

प्रधानमन्त्री दाहालले स्विच थिचेपछि टीबीएम मेसिन सुरुङबाट निकालियो
वैशाख २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुनकोशी-मरिण डाइभर्सन आयोजनाको सुरुङ 'ब्रेक थ्रु'

सिन्धुली । सुनकोशी-मरिण डाइभर्सन आयोजनाको सुरुङको ब्रेक थ्रु भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सुरुङको 'ब्रेक थ्रु' गरिएको हो । प्रधानमन्त्री दाहालले स्विच थिचेपछि सुरुङभित्र रहेको टीबीएम मेसिनले बाँकी रहेको केही सेन्टीमिटर पूरा गरी बाहिर निस्किएको हो ।

योसँगै १३ दशमलव ३ किलोमिटर सुरुङ छिचोलिएको छ । समारोहमा प्रधानमन्त्री दाहालले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । यसले राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने उहाँको भनाइ छ । आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका २ को कुसुमटारबाट प्रवेश गराइएको टीबीएम मेसिन सुनकोसी नदी किनार कानढुंग्रीबाट बाहिर निस्किएको हो । सुरुङ खन्न २२ महिनाको लक्ष्य लिइएकोमा ३ महिना २ दिनअघि नै सम्पन्न भएको छ ।

२०७९ असोज २८ गते सुरु भएको १३ दशमलव तीन किलोमिटर लामो सुरुङमा पानी पठाउन सुनकोसी नदीमा ३० मिटर उचाइ र १ सय ५८ मिटर लम्बाइको बाँध निर्माणाधीन छ। सुनकोशीको पानी प्रतिसेकेण्ड ६७ क्युसेकका दरले सो सुरुङमार्फत मरिण खोलामा खसालिने छ। त्यहाँ ६६ मिटर हेटेडबाट पानी झारेर ३१ दशमलव ७ मेगावाट विद्युत उत्पादन गरिने छ । चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले सुरुङ खनेको हो । सुनकोसीको पानी मरिणखोलामा खसाली मधेश प्रदेशका पाँच जिल्लाको एक लाख २२ हजार हेक्टरमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.