हुम्लामा नदीमा पुल नहुँदा सवारीसाधन चलाउनै मुस्किल

वैशाख २६, २०८१ |जनकबहादुर शाही
हुम्लामा नदीमा पुल नहुँदा सवारीसाधन चलाउनै मुस्किल

हुम्ला । सुन्दा अचम्म लाग्न सक्छ, तर यो दुर्गम हिमाली जिल्ला हुम्लाको वास्तविकता हो । गाडीलाई डोरीले बाँधेर नदी तार्नुपर्ने बाध्यता छ हुम्लामा । कर्णाली कोरिडोरको छारे भिर छिचोलिएसँगै सडकमा जसोतसो गाडी त गुड्न थालेका छन् तर खार्पु भएर बग्ने चुवाखोला कर्णालीमा पुल नबनेकाले डोरी बाँधेर गाडी तार्नुपरेको हो ।

सडक बनाउने जिम्मा पाएको नेपाली सेनाले छारे भीरमा ट्रयाक खोलेपछि सदरमुकाम सिमकोट पुर्‍याउनुपर्ने गाडी यो बाटो हुँदै ल्याउन थालिएको छ । तर चुवाखोला कर्णालीमा पुल छैन । त्यसैले नदी तार्न गाडीमा डोरी लगाउनुपरेको हो । ट्रयाक खुलेपछि जिल्ला प्रहरी कार्यालयको जिप डोरीले बाँधेर चुवाखोला कर्णाली तारेर सिमकोट पुर्‍याइयो । यो जिप डेढ वर्ष पहिल्यै खरिद गरेर दक्षिणी हुम्लाको अस्थायी प्रहरी पोष्ट तुम्चमा राखिएको थियो । त्यस्तै एक वर्षअघि किनेर नेपालगञ्जमा राखिएका सिमकोट गाउँपालिकाको एउटा जिप र एउटा निजी गाडी यही जुक्ति लगाएर सिमकोट पुर्‍याइएको छ ।

चार दिनअघि सिमकोटमा लगिएको प्रहरीको जिप तार्दैगर्दा बीचैमा स्ट्राट बन्द भएपछि अगाडि तान्ने धकेल्ने सकस गर्दै मुस्किलले पारी पुर्‍याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हाल नदीमा बहाव कम भएकाले यो जुक्ति गाएर गाडी पारि पुर्‍याइए पनि बर्खा लाग्यो भने त्यो पनि सम्भव छैन ।

स्काभेटर, जेसिबीजस्ता हेभी गाडी जसोतसो पारी पुगे पनि साना सवारीलाई चुवाखोला कर्णाली तार्न सजिलो छैन । त्यसमाथि सेनाले ट्रयाक मात्रै खोलेको छारे भिर खण्डमा जिपहरु लैजान जोखिम छ । छारे खण्ड कर्णाली करिडोर उत्तरखण्ड हिल्सा सिमकोट सडक योजना कार्यालयलाई हस्तान्तरण भइनसकेकाले यहाँ सार्वजनिक यातायात अझै चलेको छैन ।

तर अत्यावश्यक कामका लागि प्रशासनको सिफारिस ल्याएमा सेनाले छारेबाट गाडी लैजान सेनाले अनुमति दिने गरेको छ । त्यस्तो अनुमति पाएका बिसभन्दा बढी सवारी साधन यसरी नदी पार गर्दै सदरमुकाम पुगेका छन् । 


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।