सुनकोशी- मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रु'

वैशाख २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुनकोशी- मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रु'

सिन्धुली । सुनकोशी- मरिण डाइभर्सन सुरुङको आज ब्रेक थ्रु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सुरुङ ब्रेक थ्रु गर्ने कार्यक्रम छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका-७ को सुनकोशी र तामाकोशी दोभानबाट ९ सय मिटर तल कानढुंग्रीमा ब्रेक थ्रु गरी सुरुङ खन्ने टीबीएम मेसिन बाहिर निकाल्ने तयारी छ ।

आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका-२ को कुसुमटारबाट छिराइएको सुरुङ खन्ने टीबीएम मेसिन सुनकोसी नदी किनार कानढुंग्रीबाट बाहिर निस्किएपछि ब्रेक थ्रु हुनेछ । २२ महिनामा सुरुङ खन्ने लक्ष्य लिइएकोमा ३ महिना २ दिनअघि नै सम्पन्न भएको हो ।

१३ दशमलव ३ किलोमिटर लामो सुरुङमा पानी पठाउन सुनकोशी नदीमा ३० मिटर उचाइ र १ सय ५८ मिटर लम्बाइको बाँध निर्माणाधीन छ । सुनकोशीको पानी प्रतिसेकेण्ड ६७ क्युसेकका दरले सुरुङमार्फत मरिण खोलामा खसालिनेछ। 

त्यहाँ ३१ दशमलव ७ मेगावाट विद्युत पनि उत्पादन गरिनेछ । चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले सुरुङ खनेको हो । 

सुरुङ खन्न मात्रै मूल्य अभिवृद्धि करबाहेक १० अर्ब ५ करोड ६८ लाख ३७ हजारको ठेक्का लागेको थियो । सुनकोशीको पानी मरिणखोलामा खसाली मधेश प्रदेशका पाँच जिल्लाका १ लाख २२ हजार हेक्टरमा वर्षैभरि सिचाइँ सुविधा पुर्‍याउने सरकारको लक्ष्य छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.