कतारका राजा आउँदा दिइएको बिदाको विरोध, गृहमन्त्री लामिछानेद्वारा बचाउ

वैशाख ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
कतारका राजा आउँदा दिइएको बिदाको विरोध, गृहमन्त्री लामिछानेद्वारा बचाउ

काठमाडौं । कतारका राजा शेख तामिम विन हमद अल थानी नेपाल भ्रमणमा आउँदा दिइएको बिदाका बारेमा सामाजिक सञ्जालमा आलोचना भएपछि गृहमन्त्री रवि लामिछाने उक्त निर्णयको बचाउमा उत्रिनु भएको छ । राजनीतिमा आउनुअघि लामिछाने आफैं भीआईपी आउँदा दिइने बिदा अनावश्यक भएको भन्दै विरोध गर्नुहुन्थ्यो । तर, आफैं गृहमन्त्री हुँदा बिदा दिइएपछि समाजिक सञ्जालमा आलोचना भएको हो । आलोचना भएपछि उहाँले विधि नफेरीकन कुनै व्यक्ति देश वा घटना हेरेर फरक-फरक निर्णय गरिनु कूटनैतिक हिसाबले गलत हुने तर्क गरेर सरकारको निर्णयको बचाउ गर्नुभएको छ ।

'अनावश्यक बिदा, भीआईपी सवारीका नामको नागरिकले पाउने सास्ती, करोडौं खर्च गरेर दिइने पदक सम्मान, आम माफीका नाममा पहुँचवाला अपराधीलाई मात्र छुट, सुरक्षाकर्मीहरुलाई कामदार बनाउने परम्परा, केही भूतपूर्वहरुलाई दिइँदै आएको अभूतपूर्व सुविधालगायतका तमाम विषयमा पदबहाल गरेको दिनदेखि नै लगातार काम गरिरहेको छु,' उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, 'रिजल्ट आउँदैछ । तर, विधि नै नफेरीकन कुनै व्यक्ति, देश वा घटना हेरेर फरक-फरक निर्णय गरिनु कुटनैतिक, राजनैतिक र वैधानिक हिसाबले सही हुन्न।'

लामो समयदेखि भएका अभ्यासहरुलाई सच्याउँन समय लाग्ने तर्क गृहमन्त्री लामिछानेको छ । 'जे कुरा हिजो गलत भनिएको थियो, त्यो आज पनि गलत नै हो, हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन। तर तीन दशकका अभ्यासहरुलाई सच्याउन समय त लाग्छ। धेरै काम हुँदैछन्, थोरै धैर्य गरिदिनु भए पुग्छ,' उहाँले लेख्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement