हुम्ला । हुम्ला सदरमुकामबाट ३२ कोष दूरीमा रहेको सर्केगाड गाउँपालिका ७, रोडिकोटमा एक सुत्केरीको मृत्यु भएको छ । सुत्केरी भएको साढे ३ घण्टापछि स्वास्थ्यचौकीमा उपचारकै क्रममा २८ वर्षीया रीता देवकोटाको ज्यान गएको हो ।
पहिलो सन्तान जन्माउन आइतबार बिहान ११ बजे स्वास्थ्यचौकी पुगेकी देवकोटाले राति ९ बजे बच्चा जन्माएको र मध्यरात साढे १२ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
तीन दिनअगाडि (शुक्रबार) बाट सुत्केरी बेथा लागे पनि उनलाई आइतबार बिहान मात्र स्वास्थ्यचौकी पुर्याइएको थियो । उनको स्वास्थ्य अवस्था पनि सामान्य थियो तर राति १० बजे एक्कासि उच्च रक्तश्राव भएपछि बच्चा जन्मिएको साढे ३ घण्टापछि मृत्यु भएको रोडिकोट स्वास्थ्य चौकीका सिनियर अनमी दुर्गा शाहीले जानकारी दिनुभयो ।
‘देवकोटालाई शुक्रबारदेखि पानी बग्ने समस्या देखिए पनि ढिला नगरी स्वास्थ्यचौकी ल्याएको भए बचाउन सकिन्थ्यो कि ?’ शाहीले भन्नुभयो, ‘बेथाले च्यापेको तीन दिनपछि मात्रै उपचारका लागि ल्याउँदा समस्या भएको हो ।’