डढेलोमा परी वृद्धाको मृत्यु, ४ वटा घर नष्ट

वैशाख ९, २०८१ |महेश केसी
डढेलोमा परी वृद्धाको मृत्यु, ४ वटा घर नष्ट

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३, निपाने गाउँनजिकैको जंगलमा लागेको डढेलोमा परी स्थानीय ७० वर्षीया बुदी कामीको ज्यान गएको छ । जंगलमा लागेको डढेलो घरतर्फ आएपछि निभाउन खोज्दा उहाँको मृत्यु भएको गाउँपालिका अध्यक्ष जनककुमार बाँठाले जानकारी दिनुभयो ।

डढेलो गाउँमा सल्किँदा चारवटा घर पूर्ण रुपमा नष्ट भएका छन् । गाउँपालिका अध्यक्ष बाँठाका अनुसार बुदीसँगै युवराज विक, अनन्त विक र धनबहादुर बोहोराको घर आगोले नष्ट भएको हो ।

‘आगो अझै नियन्त्रणमा आएको छैन । मानवीय र अन्य क्षति हुन नदिन के गर्न सकिन्छ भनेर प्रयास गरिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणको प्रयास गरिरहेका छौं ।’

प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले पनि घटनाको पुष्टि गर्दै घटनास्थलमा प्रहरी खटाएको र स्थानीय समेतको सक्रियतामा आगो निभाउने र थप क्षति हुन नदिने प्रयास भइरहेको जानकारी दिनुभयो ।

सुक्खायाममा आगलागीका कारण रुकुम पश्चिमका विभिन्न वन-पाखामा क्षति भएको छ । बर्सेनि अनेकन् प्रयास गर्दा पनि आगलागीमा कमी आउन सकेको छैन । साथै आगलागीमा संलग्नलाई खोजी गरी कारबाही गर्ने काममा पनि सरोकारवालाले गर्न सकेको छैन ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।