कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि हडपेको स्काउटको जग्गा प्रशासनको नियन्त्रणमा

लैनचौर ब्यांक्वेट र व्यापारिक भवनमा शिलबन्दी
प्रक्रिया पूरा गरी स्काउटलाई नै हस्तान्तरण गरिने
वैशाख ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि हडपेको स्काउटको जग्गा प्रशासनको नियन्त्रणमा

काठमाडौं । प्रतिनिधिसभाका सांसद तथा कांग्रेस केन्द्रीय सदस्य दीपक खड्काले हडपेको नेपाल स्काउटको जग्गा तथा कार्यालयमा प्रशासनले ताला लगाएर सिलबन्दी गरेको छ । प्रहरीसहित पुगेको प्रशासनको टोलीले लैनचौर बैंक्वेटसहितका भवनमा तालाबन्दी गरेको हो ।

स्काउटको तीन रोपनी जग्गा भाडामा लिएका कांग्रेस सांसद खड्काले थप ९ रोपनी जग्गासमेत हडपेका छन् । स्काउटको सम्पत्ति खाली गर्न अदालतले आदेश दिँदा पनि सरकारले खड्कालाई हटाउन सकेको थिएन ।

सांसद खड्का सञ्चालक रहेको श्री खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले स्काउटसँग २०६५ मा सम्झौता गरी ३ रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएको थियो । सम्झौताको म्याद २०७५ मै सकिए पनि खड्काले सम्झौताअनुसार भाडाबापतको ६ करोड ३० लाख १८ हजार रुपैयाँ भुक्तानी नगरेको स्काउटको दाबी छ । खड्काले भने उक्त जग्गा र भवन अरुलाई भाडामा लगाएका छन् । सांसद खड्काले अनधिकृत रुपमा स्काउटको जग्गा र भवन हडपेको विषयमा कान्तिपुर टेलिभिजनले गत चैत १३ गते नै रिपोर्ट प्रसारण गरेको थियो ।

बिहीबार सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्मा लैनचौर प्रहरीवृत्तका डीएसपी सत्यनारायण थापा र काठमाडौं महानगरपालिका वडा नम्बर २६का वडा अध्यक्ष श्याम तिवारी लगायतको टोलीले उक्त जग्गाभएको क्षेत्रमा सिलबन्दी गरि नियन्त्रणमा लिएको हो । प्रशासन र प्रहरीको टोली दिउसो नै जग्गा शिल गर्न पुगेपनि खडकाले भाडामा लगाएको लैनचौर ब्यांक्वेटमा विवाहको पार्टी चलिरहेकाले राती ९ बजेपछि मात्रै शिल गरिएको हो । मानविय दृष्टीकोणलाई ध्यानमा राख्दै ब्यांक्वेटमा शुक्रबार हुने पार्टीमा भने कुनै बाधा हुन नदिने सहायक प्रजिअ शर्माले बताएका छन् ।

भाडामा लिएको ३ रोपनी जग्गामा खड्काले लैनचौर ब्यांक्वेट र माई च्वाइस रेस्टुरेन्टलाई भाडामा लगाएका छन् । बैंक्वेट र रेस्टुरेन्टको संरचना ५ रोपनीमा फैलिएको छ । बाँकी करिब ७ रोपनी जग्गामा सशुल्क पार्किङ राखेका छन् ।

लैनचौर चोकको स्काउट भवनको ३६ वटा सटर, कबल पनि खड्काले १५ वर्षदेखि भाडामा लिएका थिए । भाडामा दिएको भवनमा विद्युत् र पानीको महसुलसमेत स्काउटको नाममा उठ्थ्यो ।

सम्बन्धित समाचार...

स्काउटको जग्गामा सांसद दीपक खड्काको रजाइँ, राजनीतिक नेतृत्व मूकदर्शक


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement