रुकुम पश्चिममा करिब डेढ करोड रुपैयाँ अपचलन गर्ने बैंकका कर्मचारी पक्राउ

चैत्र ९, २०८० |महेश केसी
रुकुम पश्चिममा करिब डेढ करोड रुपैयाँ अपचलन गर्ने बैंकका कर्मचारी पक्राउ

रुकुम पश्चिम । आठबीसकोट नगरपालिका–११ राडी बजारमा रहेको प्रभु बैंकबाट रकम अपचल गरी फरार रहेका सोही बैंकका एक कर्मचारी पक्राउ परेका छन् ।

राडी शाखामा अपरेसनल इन्चार्ज रहेका बखत आठबीसकोट नगरपालिकाका भुकम्प प्रभावितका लागि भनेर आएको पहिलो किस्ता बापतको रकम खातामा जम्मा नगरी अपचलन गरेको आरोपमा सोही ठाउँका ३१ वर्षीय निरजविक्रम शाहलाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजजिक गरेको हो ।

बैंकमा कार्यरत रहदाँ गत माघ ७, १७ र १९ गते ३ वटा चेकको कुल १ करोड ३१ लाख २५ हजार रुपैयाँ नगरपालिकाको खातामा जम्मा नगरी अनाधिकृत रुपमा अपचलन तथा दुरुपयोग गरी फरार रहेका शाहलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो । गत फागुन ९ गते प्रभु बैंक लिमिटेड कर्णाली प्रदेश प्रमुख शरदराज तिमिल्सिनाले प्रहरीमा दिएको जाहेरीका आधारमा शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताए ।

शाहलाई पक्राउ गर्न उच्च अदालत सुर्खेतबाट गत फागुन १२ गते पक्राउ अनुमती जारी भएपछी जिप्रका बाँकेसँगको समन्वयमा बिहीबार नेपालगञ्ज उप–महानगरपालिका–१५ जमुनाहबाट उनलाई पक्राउ गरिएको हो ।

आठबीसकोट नगरपालिकाले भुकम्प प्रभावितलाई पहिलो किस्ता बापत दिनुपर्ने रकम यसरी अपचलन भएपछि उक्त रकम बैंकले नगरपालिकालाई फिर्ता गरिसकेको प्रभु बैंक राडी शाखाका प्रबन्धक शरदराज तिमिल्सिनाले बताएका छन् ।

वचतकर्ताको रकम अपचलनको यो घटनापछि प्रभु बैंकको उक्त शाखामा कार्यरत शाहसहित सबै कर्माचारीलाई तत्काल निलम्बन गरेको थियो ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।