जसले प्रेम गरेकै कारण ज्यान गुमाए

जाजरकोटका नवराज विकले न्याय पाए, काभ्रेका अजित मिजार न्यायको पर्खाइमा
फाल्गुन २, २०८० |महेश केसी|पुजन धिताल
जसले प्रेम गरेकै कारण ज्यान गुमाए

रुकुम पश्चिम । रोमन सम्राट क्लाउडिअसले विवाहमा प्रतिबन्ध लगाएको विरोधमा उत्रिएर प्रेम अनि विवाहको पक्षधरका रुपमा उभिएका पादरी भ्यालेन्टाइनको बलिदानको सम्मानमा आज संसारभरि प्रणय दिवस मनाइयो ।

यस्तै नेपालमा भएका दुई वियोगान्त प्रेम कहानीलाई आज हामीले समेटेका छौं । जसले प्रेम गरेकै कारण ज्यान गुमाए । जुन देशको संविधानको प्रस्तावनामै जातीय छुवाछुत अन्त्य लेखिएको छ, त्यही देशमा आफूभन्दा फरक जातमा प्रेम गरेकै कारण युवाले ज्यान गुमाए । यो सभ्य र सद्भावपूर्ण भनिएको हाम्रो समाजको अँध्यारो धब्बा हो ।

भनिन्छ प्रेममा केही हेरिँदैन । हेरिन्छ त केवल माया गर्ने मन । तर मन हेरेर प्रेम गरेकै कारण ज्यान गुमाउनुपर्यो जाजरकोटका नवराज विक र काभ्रेका अजित मिजारले ।

रुकुम पश्चिमकी एक मल्ल थरकी किशोरीलाई प्रेम गर्थे जाजरकोटका नवराज विक । २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८, सोती गाउँमा आफ्नी प्रेमिका भेट्न आफ्ना साथीहरुसँगै पुगेका थिए नवराज । तर स्थानीयको आक्रमणको सिकार बनेका नवराजसहित ६ जनाको ज्यान गयो ।

घटनाको साढे दुई वर्षपछि गत मंसिर १९ गते रुकुम जिल्ला अदालतले उनीहरुको हत्यामा संलग्न भएको भन्दै २४ जनालाई कर्तव्य ज्यानतर्फ जन्मकैद र दुई जनालाई जातीय छुवाछुत कसुरमा दुई वर्ष कैद सजाय हुने फैसला गर्यो ।

घटनापछि ढिलै भए पनि दोषीले सजाय र पीडितले न्याय त पाए । तर एउटा प्रेम अधुरै रह्यो । सँगसँगै अरु पनि धेरै प्रेमिल मनहरुले मायालु संसारबाट बिदा लिनुपर्यो । न्याय पाएपछि आमाहरुले छोराहरुलाई यो दिनमा पनि सम्झिए ।

उता २०७१ सालमा काभ्रे पाँचखालका अजित मिजार र नजिकै गाउँ ज्याम्दीकी पराजुली थरकी किशोरीबीच माया बस्यो ।

काभ्रेका हरिभक्त ढकाल मिजार सात वर्षदेखि छोराको न्यायका लागि लडिरहेका छन् । ‘१८ वर्षको छोरो गुमाउनुभन्दा कम पीडादायी छैन, न्याय खोज्दा राज्य पक्षबाट भोगेको बेवास्ता र रुखोपना उस्तै छ,’ अजितका बुबा हरिभक्त ढकाल मिजारले भने ।

प्रेम सम्मान हो, विश्वास हो अनि अहिलेसम्म यो पृथ्वी बाँच्नुको कारण हो । यसकारण नवराज विक र अजित मिजार जस्तै कसलै पनि प्रेम गरेकै कारण ज्यान गुमाउनु नपरोस् ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।