हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

माघ १८, २०८० |महेश केसी
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । अत्यधिक हिमपातका कारण मध्यपहाडी लोकमार्गको रुकुम पूर्वदेखि बागलुङ खण्डको आवतजावत अवरुद्ध भएको छ । भूमे गाउँपालिका १, लुकुमदेखि माथि बागलुङको सिमानास्थल पाथीहाल्नेसम्म हिउँ परेकाले सडक अवरुद्ध भएको हो ।

रुकुम पूर्व र पश्चिमबाट काठमाडौं, पोखरातर्फ जाने सवारीसाधनहरु यो मार्ग हुँदै आवतजावत गर्ने अवस्था नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए । अहिले पनि हिउँ परिरहेकाले तत्काल सडक खुल्ने सम्भावना नरहेको भट्टराईको भनाइ छ ।

मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि काठमाडौंतर्फ जाने सवारीसाधनहरु रुकुम पश्चिम, सल्यान र दाङ हुँदै पूर्व-पश्चिम राजमार्ग भएर गइरहेको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताए । अझै हिउँ पर्न सक्ने सम्भावना भएकाले यो मार्ग भएर आवतजावत नगर्नसमेत प्रजिअ शर्माले अनुरोध गरे ।

हिमपातका कारण मध्यपहाडी लोकमार्गको यो खण्ड बर्सेनि यसरी अवरुद्ध हुने गरेको छ । हिउँ हटाएर बाटो खोल्न सामान्य प्रयासले सम्भाव नहुने भएकाले आफूहरुले चाहेर पनि यो समस्या समाधान गर्न नसकेको भूमे गाउँपालिका अध्यक्ष होमप्रसाद श्रेष्ठले बताए ।

क्याप्सन :

हिमपातका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको रुकुम पूर्व-बागलुङ सडक खण्ड । तस्बिर सौजन्य : कुलदीप न्यौपाने

यो पनि...

हिमपात र वर्षाले कर्णालीमा हवाई सेवा प्रभावित

कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात

हुम्लामा हिमपात, बाली सप्रिने किसानको आश


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।