स्थानीय तहले संघकै मुख ताक्दा जाजरकोटमा दोहोरियो ७२ सालकै भूकम्पको नियति

माघ २, २०८० |महेश केसी
स्थानीय तहले संघकै मुख ताक्दा जाजरकोटमा दोहोरियो ७२ सालकै भूकम्पको नियति

रुकुम पश्चिम। संघीय राजधानी काठमाडौंमा भूकम्प सचेतनासँग सम्बन्धित रहेर २६ औँ भूकम्प सुरक्षा दिवस मनाइरहँदा कात्तिक १७ गतेको जाजरकोट भूकम्पबाट क्षतविक्षत बनेको रुकुम पश्चिमका पीडितको अवस्था के छ त ? 

माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस ।  यो दिवस मनाइरहँदा गत कार्तिक १७गते राति गएको भूकम्पका कारण घरबासविहीन बनेका रुकुमपश्चिमका करिब २८ हजार प्रभावितमध्ये अहिलेसम्म आधाउधीले मात्रै अस्थायी आवासका लागि टहरा बनाए छन् भने, बाँकी भूकम्पप्रभावित अझै अस्थायी टहराकै लागि सङ्घर्षरत छन् ।

भूकम्प गएको साढे दुई महिना पुग्नै लाग्दा पीडितहरूले पहिलो किस्ताबापतको रकम बुझ्ने क्रम जारी छ। छदा खादाको घर भत्किएपछि अब उस्तै र स्थायी घर कहिले बन्ला भनेर पीडितहरू पर्खिरहेका छन् ।

रुकुमपश्चिममा हालसम्म कुल २८ हजार ४३ जना लाभग्राहीमध्ये २२ हजार ६५ जना लाभग्राहीले पहिलो किस्ताबापतको अनुदान रकम बुझेको र १४ हजार ६ वटा अस्थायी टहरा बनेका छ । यहाँ अब १४ हजार ३७ वटा अस्थायी आवास बन्न बाँकी छन् ।अहिलेसम्म पनि त्रिपालमुनि बसिरहेकालाई त पीडा छ नै, अस्थायी आवास बनाएकाहरूलाई पनि सहज भने छैन ।

जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले जिल्ला विपद् कोषबाट पालिकाको खातामा हालसम्म कुल७० करोड ८९लाख ५० हजार रुपैयाँ पठाएको बताएको छ । यो रकममध्ये प्रभावित पालिकाहरुले आइतबार सम्म ५५ करोड १६ लाख २५ हजार रुपैयाँ लाभग्राहीसम्म पठाएको बताएका छन् ।

भूकम्प गएको लामो समय सम्म राहत र अस्थायी आवासकै वरिपरि अलमलिइरहेको सरकारले पुनर्निर्माणको काम कहिले र कसरी अघि बढाउने हो कुनै टुङ्गो छैन ।

भूकम्प लगत्तै उद्धार र राहातमा जुन गतिमा काम भयो त्यसपछिका गतिविधीहरू भने निकै सुस्त रहे । अहिलेपनि आधाउधी पीडितहरू त्रिपालमुनि बसिरहेका छन् भन्ने खबर निकै दुःखद हो । ती पीडितहरुलाई सुरक्षित तवरले अस्थायी आवासमा सार्न जरुरी छ ।

सँगसँगै अब पीडितहरू कहिलेसम्म अस्थायी आवासमा बस्ने स्थायी आवासको कामलाई पनि अघि बढाउन जरुरी छ । यसका लागि पुनर्निर्माणको अभियानलाई पनि शीघ्र अघि बढाउन आवश्यक छ ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।