निर्माणाधीन जाजरकोट-डोल्पा खण्डमा चन्दा आतंक, काममा अवरोध

पुस २१, २०८० |महेश केसी
निर्माणाधीन जाजरकोट-डोल्पा खण्डमा चन्दा आतंक, काममा अवरोध

रुकुम पश्चिम । भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडक खण्डमा निर्माण व्यवसायीसँग चन्दा माग्दै निर्माणमा अवरोध गरिएको छ । हिजो (शुक्रबार) अपराह्‍न ४ बजेतिर निर्माणस्थलमा पुगेका ३/४ युवाले सडक निर्माणको काम गरिरहेका सामग्रीको चाबी थुतेको बताइएको छ ।

जाजरकोटको नलगाढ नगरपालिका ७, दानीपिपलमा स्थानीय युवाले आर्थिक सहयोग मागेको र उक्त रकम नदिँदा काममा अवरोध गरेको निर्माण कम्पनीका साइट इन्चार्ज पतिराम रोकाले जानकारी दिए । ‘बेला-बेलामा विभिन्नखाले सहयोग माग्नेहरुलाई सकेको सहयोग गरिएकै हो । तर योचाहिँ अति भएपछि हामीले अस्वीकार गर्‍यौं । अनि हाम्रा सवारीको चाबी तानिदिए,’ उनले कान्तिपुर टेलिभिजनसँग भने ।

यस खण्डमा श्रेष्ठ कन्ट्रक्सनमार्फत यती विल्डर्सले सडक कालोपत्रेको काम गरिरहेको छ । आफ्ना स्काभेटर, भ्याकु-लोडर, ट्याक्टर र टिपर गरी चारवटा सवारीसाधन रोकेको इन्चार्ज रोकाको भनाइ छ । यसरी सवारीसाधन रोक्दा यस खण्डको आवतजावतमा असर परेको छ । अहिले वैकल्पिक चाबी खोजेर आज (शनिबार) बिहानदेखि काम सञ्चालन गर्ने तयारी रहेको पनि रोकाले जनाए ।

आफ्नो जिम्माको काम गरिरहेका बेला जो पायो त्यही आएर धम्क्याउने अनि पैसा माग्दै काममा अवरोध गर्ने समस्या सधैंका लागि समाधान गरेर निर्भयपूर्वक काम गर्ने वातावरणको माग निर्माण व्यवयायीले गरेका छन् ।

यस विषयमा जाजरकोटका निमित्त प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले केही उदण्ड युवाले यस्तो काम गरेकोबारे जानकारी आएको जनाउँदै उनीहरुको खोजी भइरहेको जानकारी दिए । उनले भने, ‘निर्माण कार्य नै रोक्नु भनेको गम्भीर कुरा हो । यो गलत काममा संलग्नको खोजी गरी समस्या समाधानका लागि तत्काल पहल गर्न निर्देशन गरिएको छ ।’


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।