भूकम्प प्रभावितलाई सेभ द चिल्ड्रेनले ८ सय थान टेन्ट दिने

मंसिर २६, २०८० |न्युज एजेन्सी नेपाल
भूकम्प प्रभावितलाई सेभ द चिल्ड्रेनले ८ सय थान टेन्ट दिने

काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि सेभ द चिल्ड्रेनले आठ सय थान विन्टर टेन्ट उपलब्ध गराउने भएको छ ।

काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा नेपालका लागि ईयूका राजदूत भेरोनिक लोरेन्जोले भूकम्पपीडितका लागि टेन्ट वितरण गर्न सेभ द चिल्ड्रेनलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा सेभ द चिल्ड्रेनका राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले भूकम्पको मारमा परेका बालबालिका, सुत्केरी, गर्भवती महिला, ज्येष्ठ नागरिक र अपांगता भएकाहरुको जीवन सुरक्षाका लागि अस्थायी आवास स्वरुप सो टेन्ट वितरण गर्न लागेको पनि जनाए ।

राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले भने, ‘विनाशकारी भूकम्पका कारण विशेषगरी बालबालिका, गर्भवती महिला, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति अन्य व्यक्तिहरुभन्दा बढी प्रभावित भएका छन् । भूकम्प प्रभावितक्षेत्रमा अत्याधिक चिसोका कारण धेरै व्यक्तिको मृत्यु भइसकेको छ । त्यहाँका अति प्रभावित घरपरिवार र सीमान्तकृत समुदायको संरक्षण सुनिश्चित गर्न अत्यावश्यक छ । युरोपेली संघद्वारा प्रदान गरिएका टेन्टले प्रभावित घरपरिवारलाई अस्थायी बासस्थान र संरक्षण प्रदान गर्नेछ, साथै उनीहरुको जीवन रक्षा गर्न सहयोग गर्नेछ ।’

टेन्ट राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा प्रभावित क्षेत्रमा पुर्‍याइने र स्थानीय तहको रोहबरमा वितरण गर्ने व्यवस्था मिलाइएको पनि जानकारी गराइएको छ । टेन्टमा तीनवटा कोठा हुने र त्यसले चिसोबाट बच्न सुरक्षा प्रदान गर्ने ईयूले जनाएको छ । टेन्टमा खाना पकाउन स्टोभको पनि व्यवस्था छ ।

यस्तै सेभ द चिल्ड्रेनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रका बालबालिकाको पठनपाठनको निरन्तरताको तीन सयवटा बढी अस्थायी सिकाइ केन्द्रको निर्माण गर्ने कार्य अघि बढाएको बताएको छ । जाजरकोट र रुकुम पश्चिमलगायत जिल्लामा विनाशकारी भूकम्प गएपश्चात बढ्दो चिसोका कारण हालसम्म तीन बालबाललिकासहित ३२ जनाको मृत्यु भइसकेको छ ।


Image

न्युज एजेन्सी नेपाल

कान्तिपुर टेलिभिजन न्युज एजेन्सी नेपालको आधिकारिक ग्राहक हो ।