भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज तेस्रो चरणको मतदान हुँदै

१० राज्य र २ केन्द्र शासित प्रदेशका ९३ सिटका लागि १३ सय ५१ उम्मेदवार मैदानमा
वैशाख २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं । भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज तेस्रो चरणको मतदान भइरहेको छ ।  स्थानीय समयअनुसार बिहान सात बजे सुरु भएको मतदान साँझ ६ बजेसम्म जारी रहने छ ।

१० राज्य र २ केन्द्रशासित प्रदेश गरी १२ प्रदेशका ९३ सिटका लागि एक हजार तीन सय ५१ उम्मेदवार मैदानमा छन् । आज असमका ४, बिहारका ५, छत्तिसगढका ७, गोवाका २, गुजरातका २६ मध्ये २५, कर्नाटकका १४, मध्य प्रदेशका ८, महाराष्ट्रका ११, उत्तर प्रदेशका १० तथा पश्चिम बंगालका ४ सिटका लागि मतदान भइरहेको छ । 

यस्तै जम्मु कश्मीर र एक अन्य केन्द्र शासित प्रदेशका गरी तीन सिटका लागि पनि मतदान भइरहेको छ । 

गुजरातको १ सिट सुरत निर्वाचन क्षेत्रमा भाजपाका उम्मेदवार मुकेश दलाल निर्विरोध निर्वाचित भएको घोषणा भइसकेकाले सो निर्वाचन क्षेत्रमा भने मतदान हुने छैन । निर्वाचन आयोगले जाली हस्ताक्षर गरिएको भन्दै कंग्रेसका उम्मेदवार निलेश खुम्बानीको उम्मेदवारी रद्द गर्नुका साथै अन्य उम्मेदवारले पनि आफ्नो नाम फिर्ता लिएपछि सुरतबाट दलाल निर्विरोध भएका हुन् । 

गुजरातको गान्धिनगरबाट केन्द्रीय गृहमन्त्री अमित शाह, उत्तर प्रदेशको मैनपुरी निर्वाचन क्षेत्रबाट समाजवादी पार्टीका प्रमुख अखिलेश यादवकी पत्नी र वर्तमान सांसद डिम्पल यादव, महाराष्ट्रबाट नेसनलिस्ट कंग्रेस पार्टी पवार समूहका अध्यक्ष शरद पवारकी छोरी सुप्रिया सुलेको भाग्यको फैसला आजको मतदानले गर्ने छ । 

यस्तै मध्यप्रदेशका पूर्वमुख्यमन्त्री शिवराजसिंह चौहान र कंग्रेसका अनुभवी नेता तथा पूर्वमुख्यमन्त्री दिग्विजय सिंह पनि आजको चुनावका हेभिवेट उम्मेदवार हुन् ।  प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले आज मतदान गर्दै छन् । 

अप्रिल १९ मा पहिलो चरणअन्तर्गत २१ राज्यका १ सय २ सिटका लागि मतदान भएको थियो । पहिलो चरणमा साढे ६५ प्रतिशत मतदान भएको थियो भने दोस्रोमा १२ राज्य र एक केन्द्र शासित प्रदेशका ८८ सिटका लागि मतदान भएको थियो । दोस्रो चरणमा ६६ प्रतिशत मतदान भएको थियो । 

सात चरणमा हुने निर्वाचनको नतिजा जुन ४ मा सार्वजनिक हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.