काठमाडौं । उत्तरी गाजाका दुई घरमा इजरायली सेनाले गरेको पछिल्लो आक्रमणमा चार जनाको मृत्यु भएको छ । आक्रमणमा कैयौं मानिस घाइते भएका छन् ।
प्यालेस्टाइनका स्वास्थ्य अधिकारीहरुले उक्त आक्रामणको पुष्टि गरेका छन् । गाजामा इजरायलले आक्रमण जारी राखेकै बेला वर्ल्ड इकनोमिक फोरममा यो विषयले स्थान पाएको छ । फोरममा सहभागी बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले हमासलाई इजरायलको लचिलो प्रस्तावलाई स्वीकार गर्न आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारामध्यमले जनाएका छन् ।
त्यस्तै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि हमासलाई इजरायलको प्रस्ताव स्वीकार गर्न सुझाव दिएका छन् । अमेरिका र बेलायतले हमासलाई बन्धक रिहाइको बदलामा ४० दिन युद्ध विरामको प्रस्तावलाई स्वीकार गर्न भनेको बताइएको छ । हमासले भने पूर्ण युद्ध विराम नहुन्जेलसम्म आफूहरुले कुनै पनि प्रस्तावलाई स्वीकार नगर्ने अडानलाई कायमै राखेको छ । हमासका प्रतिनिधिहरु युद्ध विरामको प्रस्तावका बारेमा वार्ता गर्न कायरो पुगेका छन् ।
इजिप्ट र कतारले युद्धविरामका लागि दुवै पक्षसँग मध्यस्थता गरिरहेका छन् । उता अन्तर्राष्ट्रिय फौजदारी अदालतले गाजामा इजरायलको आक्रामक शैलीप्रति आपत्ति जनाएको छ । तर, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने गाजामा सैन्य कारबाही नरोकिने जवाफ दिएका छन् ।