‘जलवायु परिवर्तनका मुद्दा निष्पक्ष र न्यायोचित रूपमा सम्बोधन गर्न आवश्यक छ’

मंसिर २५, २०८० |न्युज एजेन्सी नेपाल
‘जलवायु परिवर्तनका मुद्दा निष्पक्ष र न्यायोचित रूपमा सम्बोधन गर्न आवश्यक छ’

दुबई । कोप २८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले जलवायु परिवर्तन न्यूनीकरणका लागि भइरहेको बहसलाई चाँडोभन्दा चाँडो अन्तिम निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन् ।

संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलनका पक्षहरूले जोखिममा रहेका मुद्दाहरूमा सहमतिमा पुग्न वार्ता थप जोड दिन आवश्यक रहेको उनको भनाइ छ । अध्यक्ष जाबेरले प्रगति भइरहे पनि पर्याप्त र छिटो काम हुन नसकेको धारणा राखे ।

संयुक्त अरब इमिरेट्सको दुबईमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षहरूको सम्मेलनको २८औं सत्रमा कोप २८ को पछिल्लो घटनाक्रमबारे जानकारी दिँदै उनले जलवायु परिवर्तनका मुद्दालाई गहन रुपमा लिएर खुला रुपमा छलफल गर्न आवश्यक रहेको बताए । मुद्दाहरूलाई निष्पक्ष र न्यायोचित रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकतामा उनले जोड दिए ।

कोप २८ नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म चल्नेछ । संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलनले सबै देशहरूले सामना गरिरहेको दबाबपूर्ण जलवायु संकटको समाधानका लागि काम गर्न विश्वभरबाट एक लाख १० हजारभन्दा बढी सहभागी भएका छन् ।


Image

न्युज एजेन्सी नेपाल

कान्तिपुर टेलिभिजन न्युज एजेन्सी नेपालको आधिकारिक ग्राहक हो ।