धनुषा । मधेस प्रदेशका जिल्लाहरुमा गर्मीसँगै आँखा पाक्ने रोगको संक्रमण बढेको छ । अस्पतालमा आँखाको उपचार गराउनेहरुको चाप बढेको छ ।
जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा धनुषा, महोत्तरी लगायत भारतीय सीमावर्ती क्षेत्रबाट दैनिक १ हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । तीमध्ये बालबालिकाको संख्या बढी रहेको छ ।
बिरामीहरुमा आँखा रातो हुने, आँसु बग्ने, चिप्रा लाग्ने लगायत लक्षण देखिएको छ । गर्मी, व्यक्तिगत सरसफाइ अभाव, प्रदूषण लगायतका कारण आँखा पाक्ने संक्रमण फैलिएको चिकित्सकहरुको भनाइ छ । यो रोग सर्ने भएकाले सतर्कता अपनाउनुपर्ने चिकित्सकको सुझाव छ ।