आउने वर्षका लागि पनि ५ देखि १० कक्षासम्मका पुस्तक छाप्न सुरु

वैशाख २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
आउने वर्षका लागि पनि ५ देखि १० कक्षासम्मका पुस्तक छाप्न सुरु

काठमाडौं । समयमै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याएको जनक शिक्षा सामग्री केन्द्रले आगामी शैक्षिक सत्र २०८२ का लागि पुस्तक छाप्न सुरु गरेको छ ।

केन्द्रले यो वर्ष सामुदायिक विद्यालयका कक्षा ५ देखि १० सम्मका विद्यार्थीका लागि एक करोड २० लाख थान पुस्तक समयमै छपाइ गरी पुर्‍याएको थियो ।

गत वर्ष सोही कक्षाका २६ लाख विद्यार्थीका एक करोड ३३ लाख थान पुस्तक बिक्री भएकामा यो वर्ष १३ लाख थान पुस्तक कम बिक्री भएको जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले जानकारी दिनुभयो । यस वर्ष समयमै पुस्तक पुर्‍याउन सफल जनक शिक्षाले आगामी शैक्षिक सत्रका लागि कक्षा ९ र १० को पुस्तक छपाइ सुरु गरेको हो ।

सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई नि:शुल्क पुस्तक उपलब्ध गराउन बर्सेनि करिब तीन अर्ब रुपैयाँ लगानी गर्दै आएको छ । तर नि:शुल्क वितरण गरिने पुस्तकको गुणस्तरमा खेलाँची नगर्न अभिभावकको आग्रह छ ।

जनक शिक्षाले भने तोकिएकै मापदण्डको कागज राखेर छपाइ गर्दै आएको दाबी गर्ने गरेको छ । यसका लागि अत्याधुनिक मेसिन थप्दै छपाइ र बिक्री वितरण सहज बनाउँदै लगेको उहाँको भनाइ छ ।

कक्षा ५ देखि १० सम्मको पाठ्यपुस्तक छपाइको जिम्मा पाए पनि आगामी शैक्षिक सत्रदेखि कक्षा १ देखिकै पुस्तक छाप्ने क्षमता रहेको प्रबन्ध सञ्चालक झाले बताउनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.