कोशी प्रदेशका सामुदायिक विद्यालयमा 'ई-ल्याब', कतै धुलैधुलो, कतै शिक्षक नै छैनन्

फाल्गुन ३०, २०८० |विनोद घिमिरे|आनन्द गौतम|अर्जुन सुवेदी|महाप्रसाद खतिवडा
कोशी प्रदेशका सामुदायिक विद्यालयमा 'ई-ल्याब', कतै धुलैधुलो, कतै शिक्षक नै छैनन्

धनकुटा । तल्लो कक्षादेखि नै विद्यार्थीलाई कम्प्युटरसम्बन्धी सैद्धान्तिकसँगै प्रयोगात्मक ज्ञान दिन कोशी प्रदेशका अधिकांश सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिएको छ । संघ, प्रदेश र स्थानीय तहले इ-लर्निङका लागि आवश्यक ल्यापटप, कम्प्युटर, स्मार्टबोर्ड लगायतका सामग्री विद्यालयलाई दिएका छन् । तर, दक्ष प्रशिक्षक र सञ्चालन कोर्ष नै छैन । त्यही कारण अधिकांश विद्यालयमा सूचना प्रविधि कक्षा प्रभावकारी बन्न नसकेको हो ।

धनकुटा बजारको गोकुण्डेश्वर बालमन्दिर माविले २०७२ सालमै कक्षा ४ देखि ८ सम्म स्थानीय पाठ्यक्रममा कम्प्युटर विषय राखेको थियो । तर, कम्प्युटर कक्षा सञ्चालन गर्ने प्रशिक्षक र उपकरण मर्मत गर्ने जनशक्ति नहुँदा २०७६ सालदेखि नै यो विषय हटाइयो । ल्यावमा ३० वटा कम्प्युटर र सहायक उपकरण अलपत्र छन् ।

ताप्लेजुङको मेरिङदेन गाउापालिका थुकिम्वामा रहेको त्रिभुवन माविका दुई वटा कोठा ल्यापटप र डेस्कटपले भरिएका छन् । सूचना प्रविधि सिक्न र बुझ्न चाहने विद्यार्थी पनि छन् । तर, सिकाउने प्रशिक्षक छैनन् । सुनसरीको इटहरीस्थित सरस्वती सतन माविको सूचना प्रविधि प्रयोगशालाको अवस्था पनि उस्तै छ ।

कोशी प्रदेशका प्रायः सबै सामुदायिक विद्यालयमा कम्प्युटर ल्याबमा भएका मनिटर, की-बोर्ड, माउस, सीपीयू र प्रिन्टरलगायतका विद्युतीय उपकरणलाई धुलोले छोपेको छ ।

२०६८ साल यता कोशी प्रदेशका पाँच सयभन्दा बढी सामुदायिक विद्यालयमा सूचना प्रविधि परियोजना लागू गरिएको छ । इन्टरनेट उपकरण, ल्यापटप-कम्प्युटर, प्रिन्टर र सहायक विद्युतीय उपकरणका लागि हरेक विद्यालयमा सात लाख रुपैयाँसम्म सरकारी लगानी छ ।

संघीय शिक्षा मन्त्रालय र कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयले सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशालाका लागि कम्प्युटर र सहायक सामग्री उपलब्ध गराउँदै आएको छ । तर, विद्यालयमा कार्यरत शिक्षकमा कम्प्युटर सम्बन्धी दक्षता छैन । जसले यो कार्यक्रमबाट विद्यार्थीले अपेक्षित लाभ लिन सकेका छैनन् ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।

Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।

Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।

Image

महाप्रसाद खतिवडा

खतिवडा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement