देशभर कति छात्रावास सञ्चालनमा छन्, सरकारलाई नै थाह छैन !

फाल्गुन २२, २०८० |नारायण किलम्बू
देशभर कति छात्रावास सञ्चालनमा छन्, सरकारलाई नै थाह छैन !

चितवन । चितवनको रत्ननगर नगरपालिकास्थित एकता शिशु निकेतनको छात्रावासमा बालिका मृत भेटिएपछि विद्यालयका छात्रावासको अवस्थाबारे चिन्ता र चासो सबैलाई भयो । तर, देशभरका शैक्षिक संस्थामा कति छात्रावास सञ्चालनमा छन्, तिनीहरूको अवस्था कस्तो छ भन्नेबारेमा सरकारलाई नै थाहा छैन । निजी शैक्षिक संस्थाले चलाएका छात्रावासबारे त सरकारलाई जानकारी हुने कुरै भएन । 

विद्यार्थी समूहमा मिलीजुली बस्ने, सिक्ने र सिकाउने ठाउँ हो छात्रावास । छात्रावासमा विद्यार्थीका लागि आवश्यक सुरक्षासहित भोजन, शैक्षिक सामग्री, पठनपाठन, परामर्शलगायतका सेवासहितको आवासीय सुविधा उपलब्ध हुन्छ । सरकारले विद्यालय तहका बालबालिकाको शिक्षालाई मध्यनजर गरी छात्रावास सञ्चालन गर्दै आएको छ । छात्रा शिक्षामा पहुँच सुनिश्चित गर्न २० वटा फिडर होस्टेल सञ्चालनमा छन् ।

आर्थिक र सामाजिक रूपमा पछाडि परेका र जेहेनदार छात्रालाई शिक्षामा पहुँच पुर्‍याउन सरकारले छात्रा छात्रावासको व्यवस्था गरेको हो । अहिले ३० वटा हिमाली आवासीय छात्रावास, ६ वटा मुक्त कमलरी छात्रावास सञ्चालनमा छन् । ३ सय ८० वटा स्रोत केन्द्रमा छात्रावास छन् । केही निजी विद्यालयले पनि छात्रावास सञ्चालन गरेका छन् । तर देशभर कति छात्रावास र कुन अवस्थामा छन् भन्ने अभिलेख सरकारसँग छैन ।

छात्रावासको रेखदेख र विद्यार्थीको सुरक्षाका लागि वार्डेन र चौकीदारको व्यवस्थासहित बालमैत्री वातावरण हुनुपर्छ । तर कतिपय विद्यालयले छात्रावासका लागि चाहिने आवश्यक न्यूनतम मापदण्ड पालना गरेका छैनन् ।

निजी विद्यालयहरूले भने आफूखुसी छात्रावास सञ्चालन चलाइरहेका छन् । कतिपय छात्रावास अनुमति नलिइ सञ्चालित छन् । नियामक शिक्षा मन्त्रालयले छात्रावासहरूको कुनै अनुगमन नियमन गर्न सकेको छैन । जसले गर्दा छात्रावासमा विकृति आउनुका साथै विद्यार्थीको मृत्युसम्मका घटना हुन थालेपछि संसद्को शिक्षा समितिले देशभरका छात्रावासको अनुगमन गरेर वास्तविकता पेस गर्न सरकारलाई निर्देशन नै दिएको छ ।

विद्यार्थीको हित र सुरक्षाको प्रत्याभूतिसहितको छात्रावास हुनुपर्छ । त्यसको नियमित अनुगमन गर्ने दायित्व सरकारको हो । तर सरकारसँग त्यसको तथ्यांकसमेत नहुने लाजमर्दो विषय हो ।

सम्बन्धित समाचार...

शालिन पोखरेलको मृत्युको घटना : के हो वास्तविकता ?

शालिनको शव परीक्षण रिपोर्ट अनुसार झुन्डिएर मृत्यु

शालिनका बाबुको दाबी- छोरीको आत्महत्या होइन हत्या भयो, विद्यालयले प्रमाण नष्ट गर्‍यो


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement