एमसीसीअन्तर्गत बन्ने विद्युत सबस्टेसन निर्माणको पहिलो ठेक्का सम्झौता

३९ महिनाभित्र बुटवलमा ४०० केभी सबस्टेसन निर्माणको जिम्मा भारतीय कम्पनीलाई
वैशाख २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
एमसीसीअन्तर्गत बन्ने विद्युत सबस्टेसन निर्माणको पहिलो ठेक्का सम्झौता

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन- एमसीसीअन्तर्गत बन्ने विद्युत सबस्टेसन निर्माणको पहिलो ठेक्का सम्झौता भएको छ ।

एमसीसीअन्तगर्तको ४०० केभी नयाँ बुटवल सबस्टेसन निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी लिङ्‍क्सन इन्डिया प्रालिले पाएको छ । एमसीए- नेपाल र भारतीय कम्पनी लिङ्‍क्सन इन्डिया प्रालिबीच आज सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा ३९ महिनाभित्र सबस्टेसन निर्माण सक्ने उल्लेख छ ।

सम्झौताअनुसार भारतीय कम्पनीले ४ अर्ब ६९ करोडमा भारतीय कम्पनीले सबस्टेसन निर्माण गर्ने छ । कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सीमापार उर्जा व्यापारमा सबस्टेसनले सहयोग पुग्ने बताए । त्यस्तै अमेरिकी राजदूत डीन आर थम्पसनले नेपालको उर्जासम्बन्धी आवश्यकता सम्बोधनका लागि यो सम्झौता उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

एमसीए नेपालका कार्यकारी निर्देशक खड्कबहादुर विष्टका अनुसार एमसीए नेपालले विद्युत प्रसारण आयोजनाअन्तर्गत प्रसारण लाइन र सबस्टेसनहरुको निर्माणसम्बन्धी सम्पूर्ण कार्यलाई अगाडि बढाइएको छ । बाँकी दुई वटा सबस्टेसन निर्माण सम्बन्धी सम्झौताका लागि पनि तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

सम्झौताअनुसार नुवाकोटको रातमाटे र तनहुँको दमौली पनि एक एक वटा सबस्टेसन निर्माण गरिने छ ।

२०८० साल भदौ १३ गते परियोजना कार्यान्वयनमा लैजाने विषयमा सहमति भएको थियो । २०१७ अक्टोबरमा नेपाल सरकार र एमसीसीबीच ५० करोड अमेरिकी डलर बराबरको पाँचवर्षे अनुदान सम्झौता भएको थियो । यो आयोजनामा नेपाल सरकारको १३ करोड अमेरिकी डलर लगानी रहनेछ ।

यसअन्तर्गत ३१५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन तथा तीनवटा सबस्टेसन निर्माण गरिनेछ । प्रसारण लाइन बनेपछि करिब चार हजार मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा जोडिनेछ । १० जिल्लाका ३० नगरपालिका छुने प्रसारण लाइनका लागि ८५६ वटा टावर निर्माण गर्नुपर्नेछ ।

प्रसारण लाइनले विद्युतको आन्तरिक खपतका साथै बढी हुने विद्युत् भारत र अन्य मुलुकमा बेच्न पनि सहयोग पुर्‍याउने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.