'सामाजिक सुरक्षा कोषमा ५० अर्ब जम्मा भयो, तर श्रमिकले सिटामोल पाएनन्'

वैशाख १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
'सामाजिक सुरक्षा कोषमा ५० अर्ब जम्मा भयो, तर श्रमिकले सिटामोल पाएनन्'

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले सामाजिक सुरक्षा कोषमा ५० अर्ब रकम जम्मा भइसक्दा पनि श्रमिकले सिटामोल नपाएको गुनासो गरेको छ । १३५औं मे दिवसको अबसरमा सोमबार पत्रकार सम्मेलन आयोजना गरेर जेटीयूसीसीले पुराना ट्रेड युनियनहरुको चरित्र परिवर्तन भएको बताउँदै उनीहरु पुँजीपति वा सत्ता पक्षीय भएकाले नेपालमा ट्रेड युनियन आन्दोलन कमजोर बन्दै गएको आरोप लगाएको छ ।

जेटीयूसीसी ले १९ बुँदे माग पनि सार्वजनिक गरेको छ । उसका मागमा औपचारिक तथा अनौपचारिक दुवै क्षेत्रमा काम गर्ने श्रमिकका लागि सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, रोजगारदाताका लागि लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने, श्रम ऐन दफा १४५ लगायत श्रम सम्बन्धी ऐन नियमहरुमा समय सापेक्ष सुधार र संशोधन गर्नुपर्ने लगायत छन् ।

त्यसैगरी, श्रमिकलाई बाँच्न पुग्ने ज्यालाको व्यवस्था गर्नुपर्ने, श्रमिक अस्पताल निर्माण गर्नुपर्ने, सामाजिक सुरक्षा करको रुपमा श्रमिकसँग कट्टा गरेको रकम सामाजिक सुरक्षा कोषमा नै जम्मा गर्ने व्यवस्था गर्नुपर्ने पनि जेटीयूसीसीले माग गरेको छ ।

कार्यक्रममा मजदुर नेताहरुले सातवटा दर्तावाल ट्रेड युनियन मिलेर वैधानिक जेटीयूसीसी स्थापना भएको बताउँदै संस्थाको नाममा अवैधानिक गतिविधि गर्नेविरुद्ध अदालतमा मुद्दा दायर गरेको समेत जानकारी दिएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.