चक्रपथ विस्तार दोस्रो खण्डको काम अघि बढाइँदै

वैशाख ९, २०८१ |अञ्जना लामिछाने
चक्रपथ विस्तार दोस्रो खण्डको काम अघि बढाइँदै

काठमाडौं । सम्झौताको पाँच वर्षपछि बल्ल चक्रपथ विस्तार दोस्रो खण्डको काम अघि बढाउन चिनियाँ पक्षले चासो देखाएको छ ।

पहिलो चरणमा कोटेश्वर-कलंकी खण्ड पाँच वर्ष लगाएर विस्तार गरिएकामा चक्रथप विस्तारको बाँकी खण्डको कामका लागि २०१८ मा चीनसँग सम्झौता भएको थियो । तर पाँच वर्षसम्म साइट क्लियर नभएको भन्दै चिनियाँ पक्ष चुपचाप बसेको थियो ।

चीनले चासो देखाएपछि चक्रपथ विस्तार हुने क्षेत्रमा बन्ने संरचनाका विषयमा दुई पक्षबीच प्राविधिक पत्र अर्थात् एक्सचेन्ज लेटरमा हस्ताक्षर गर्ने तयारी गरिएको छ ।

पहिलो चरणमा कलंकी-कोटेश्वर चक्रपथ विस्तार गर्दा सुरुमै साइट क्लियर नभएकाले निर्माणका क्रममा विभिन्न अवरोध आएको भन्दै चिनियाँ पक्षले दोस्रो चरणमा साइट क्लियर गरेपछि मात्रै काम सुरु गर्ने सर्त राख्यो । त्यसअनुसार सडक क्षेत्रमा पर्ने बिजुलीका पोल हटाउनेदेखि रुख काट्नेसम्मका काम गर्न करिब चार वर्ष लाग्यो ।

महाराजगन्ज चोकका करिब दुई सय परिवारको घरजग्गाको मुआब्जा विवाद त अझै सुल्झिएकै छैन । सरकारले महाराजगन्ज क्षेत्रका घर भत्काउन र जग्गाको मुआब्जा दिन नसकेपछि अहिले कलंकीदेखि बसुन्धारासम्म ८.२ किलोमिटर मात्रै सडक विस्तार गरिने चिनियाँ पक्षसँग सैद्धान्तिक सहमति भएको छ ।

अब चिनियाँ पक्षले डिजाइन तयार पार्ने गरी कार्यान्वयन सम्झौताको तयारी गरिएको चक्रपथ विस्तार आयोजनाका प्रमुख कृष्णनाथ ओझाको भनाइ छ । ‘पहिले मुआब्जा विवादका कारण काम अघि बढ्न सकेन । अब भने प्रक्रिया अघि बढ्न थालेको छ । आशा गरौं, छिटै काम हुन्छ,’ उहाँले भन्नुभयो ।

सत्ता समीकरण परिवर्तन भएसँगै चिनियाँ पक्षले काममा तत्परता देखाएको सरकारी अधिकारीहरु बताउँछन् । तर, सरकारले नै महाराजगन्ज क्षेत्रका घर भत्काउन र मुआब्जा दिन नसकेपछि अहिले कलंकीदेखि बसुन्धरासम्म मात्रै चक्रपथ विस्तार गरिने भएको छ ।

चक्रपथ विस्तारको क्रममा नेपालले निर्माण गर्ने सर्भिस लेनको भने काम सुरु भइसकेको छ । त्यसका लागि ६२ करोड लाग्ने चक्रपथ विस्तार आयोजनाले जनाएको छ ।

तर चिनियाँ अनुदानमा भइरहेको चक्रपथ विस्तार योजना सरकारकै कमजोरीका कारण पाँच वर्षसम्म पनि काम अघि बढ्न नसकेको भौतिक पूर्वाधार मन्त्रालयका पूर्वसचिव अर्जुनजंग थापाको बुझाइ छ । ‘अरुले अनुदानमा गरिदिन लाग्दा पनि हामीले साइट क्लियर नगरिदिनु नालायकीपन हो,’ उहाँले भन्नुभयो ।

विदेशी अनुदान तथा ऋण सहयोगमा निर्माण हुने आयोजनामा राजनीतिक स्वार्थसमेत देखिने गरेको छ । त्यसमाथि आफूले गर्नुपर्ने काम नगर्ने तर, अर्को पक्षलाई दोषारोपण गर्ने प्रवृत्ति हाबी हुँदै गएको छ । यसले चक्रपथको बाँकी करिब ९ किलोमिटर खण्डको विस्तार कहिले र कसरी हुन्छ भन्ने अन्योल फेरि पनि कायमै हुने देखिएको छ ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement