अर्थतन्त्रमा अझै अपेक्षित सुधार आउन सकेन

चैत महिनाको आयात र निर्यात गत वर्षको भन्दा कम
उत्पादन र रोजगारी बढ्न सकेन : सरकारी तथ्यांक
वैशाख ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
अर्थतन्त्रमा अझै अपेक्षित सुधार आउन सकेन

काठमाडौं । अर्थतन्त्र अहिले पनि शिथिल अवस्थामै रहेको र अपेक्षित सुधार आउन नसकेको सरकारी तथ्यांकले नै पुष्टि गरेको छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांकअनुसार चैत महिनामा आयात र निर्यात गत वर्षभन्दा पनि घटेको छ । आयातमा कमी हुँदा आन्तरिक बजारमा माग बढ्न नसकेको र निर्यात खस्किँदा उत्पादन र रोजगारी बढ्न नसकेको तथ्यांकले देखाएको छ । सरकारी अधिकारीहरुले अर्थतन्त्रमा सुधार आएको दाबी गरिरहँदा सरकारकै तथ्यांकले भने अर्थतन्त्र अहिले पनि शिथिल अवस्थामा रहेको देखाएको हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको नौ महिनासम्ममा ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबरको आयात भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २.८४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको नौ महिनामा १२ खर्ब एक अर्ब रुपैयाँबराबर आयात भएको थियो । त्यस्तै नौ महिनासम्मको अवधिमा मुलुकबाट एक खर्ब १३ अर्ब ८४ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्यात पनि ३.६६ प्रतिशतले घटेको छ । गत वर्षको चैतसम्ममा एक खर्ब १८ अर्ब रुपैयाँ बराबरको निर्यात भएको थियो ।

निर्यातमा कमी आउँदा पनि आयात घटेका कारण व्यापार घाटा भने २.९२ प्रतिशतले कम भएको छ । गत वर्षको चैतसम्म १० खर्ब ८३ अर्ब रुपैयाँ रहेको व्यापार घाटा यो वर्षको चैत कुल १० खर्ब ५३ अर्ब रुपैयाँमा झरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement