पदमबहादुर : जो रेमिट्यान्सले सुधार्दै छन् जीवनस्तर...

फाल्गुन १३, २०८० |महेश केसी
पदमबहादुर : जो रेमिट्यान्सले सुधार्दै छन् जीवनस्तर...

रुकुम पश्चिम । अर्थतन्त्रको मुख्य आधार बनेको विप्रेषण अर्थात् रेमिट्यान्सले धेरै घरपरिवारको जीवनस्तरमा सुधार ल्याएको छ । अझ रोजगारी र आय आर्जनका अवसर नभएका पश्चिम पहाडका धेरै मानिस वैदेशिक रोजगारीमा छन् । त्यस्तैमा एक हुन् रुकुमपश्चिमका पदमबहादुर खड्का । हाम्रा सहकर्मी महेश केसीले पदमले विदेशमा गरेको श्रमबाट उनको परिवारमा थपिएको खुशी समेटेका छन् ।

रुकुम पश्चिमको वडा नं. १० झ्याङमा छ, पदमबहादुर खड्काको घर । ४३ वर्षीय खड्काको घरमा यतिबेला उनका बाबा-आमा र श्रीमती बस्छन् । पदम भने विगत १४ वर्षयता वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा छन् । बेला-बेलामा घर आउने-जाने गरिरहने उनको एक दशकको कमाइले घर परिवार सुखले चलेको छ ।

परदेशमा रहेर महिनामा करिब १ लाख रुपैयाँ कमाई गरिरहेको बताउने पदमले गाउँमै दुई ठाउँमा घर बनाएका छन् । दुई छोरीहरूलाई काठमाडौंमा राखेर पढाएका छन् अनि दाङको तुलसिपुरमा जग्गासमेत खरिद गरेर अब त्यहाँ घर बनाउने योजनामा छन् । यता उनका बाबा-आमा र उनकी श्रीमती भुपेन्द्राले पशु-चौपाया पालेर र खेती-किसानी गर्दै अर्ग्यानिक जीवन बाचिरहेका छन् ।

परदेशमा पसिना बगाएपनि घरदेशका लागि उनले गरेको योगदान कम छैन । स्थानीय विद्यालयमा ५० हजारको अक्षय कोष निर्माण देखि गाउँ-समाजमा भैपरी आउने समस्या टार्न पनि उनले कहिल्यै कन्जुस्याइँ नगर्ने छिमेकीहरू बताउँछन् ।

रातदिन नभनी पसिना बगाएर मेहनत गरिरहेछन् पदम । उनको परिश्रमले घरपरिवारको मात्रै नभएर देशकै आर्थिक अवस्था मजबुत बनाउन मद्दत पुगेको छ ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।