विदेशको मोह त्यागेर फर्केकाहरूलाई आयआर्जनमा समस्या

माघ २८, २०८० |विनोद घिमिरे
विदेशको मोह त्यागेर फर्केकाहरूलाई आयआर्जनमा समस्या

धनकुटा । एक लाख ५० हजार जनसङ्ख्या रहेको धनकुटामा पछिल्लो दश वर्षमा ४८ हजारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यो धनकुटाको कुल जनसङ्ख्याको ३२ प्रतिशत हो । बिदेसिनेमध्ये झन्डै ८० प्रतिशत मलेसिया र मध्यपूर्वका विभिन्न खाडी मुलुक पुगेका छन् । आयआर्जनका काम गर्दै स्वदेशमै बस्छु भनेर विदेशको मोह त्यागेर फर्केकाहरू पनि व्यवसाय सञ्चालन गर्न आवश्यक कर्जा सुविधा, उत्पादन बेच्ने भरपर्दो बजार, काम गर्ने वातावरण र सरकारी प्रोत्साहन नहुँदा समस्यामा परेको बताउँछन् । 

एक दशकसम्मको वैदेशिक रोजगारीबाट फर्केपछि धनकुटा पाख्रीबासका शुक्रबहादुर राईले मजुवामा माहुरी श्रोत केन्द्र सञ्चालनमा ल्याएका छन् । राईले सेरेम्ना जातका २ सय घार माहुरी पालेका छन् । उनी माहुरी  गोला, घार र महको कारोबार गर्छन् । माहुरी पालन पेसामा व्यावसायिक बन्ने प्रयत्नमा रहेका राई सरकारी प्रोत्साहन नपाउँदा निराश्रय महसुस गर्छन्  ।  

वैदेशिक रोजगारीका सिलसिलामा एक दशक मध्यपूर्वमै बिताएका धनकुटा २ भीरगाउँका युवराज दर्नाल त्यहाँबाट फर्केपछि कफीको व्यावसायिक खेतीमा लागेका छन् । २ सय रोपनीमा भइरहेको खेतीबाट वार्षिक १० टन कफी उत्पादन गर्छन् । तीनै तहका सरकारले तय गरेका उद्यमशीलताको  विकास र आर्थिक समृद्धिका नाराले आफूहरू जस्ता मेहनती किसानलाई छुन नसकेको उनको गुनासो छ ।   

वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब लगायत मध्यपूर्वका खाडी मुलुक गएका अधिकांश भवन, सडक जस्ता पूर्वाधार निर्माण र केही कृषि क्षेत्रमा छन् । त्यहाँ सिकेको ज्ञान र अनुभव प्रयोग गर्ने क्षेत्र सानो र साँघुरो हुँदा नेपाल फर्केर केही गर्छु भन्नेले पनि नयाँ र आफूसँग अनुभव नै नभएका काममा लाग्नुपर्ने बाध्यता छ । सानोतिनो लगानी जुटाएर उद्यम थालेकाहरू पनि व्यावसायिक जोखिम बहन गर्न नसक्दा फेरि विदेश पलायन हुने गरेका छन् ।

धनकुटाको धनकुटा नगरपालिकाले भने विदेशबाट फर्केकाहरूलाई स्वदेशमै रोजगार बनाउन पुनः एकीकरण अभियान सञ्चालन गरेको छ । वैदेशिक रोजगारीबाट फर्केकाको अनुभव र सिपका आधारमा उनीहरूलाई व्यावसायिक बनाउन बिउ पुँजी उपलब्ध गराएको स्थानीय तहका पदाधिकारी बताउँछन् ।

विदेशबाट फर्केकालाई आफ्नै गाउँ ठाउँमा स्वरोजगार बनाउन र उनीहरूको सिप र दक्षतालाई स्वदेशमै कसरी उपयोग गर्ने भन्ने योजना र लगानी संघ, प्रदेश र स्थानीय तहले बनाउन आवश्यक छ । 


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।