महिलाको टिम बनाउने पहिलो ‘ए’ डिभिजन क्लब बन्यो संकटा

वैशाख ७, २०८१ |प्रदीप लेखी
महिलाको टिम बनाउने पहिलो ‘ए’ डिभिजन क्लब बन्यो संकटा

काठमाडौं । कुनै पनि फुटबल क्लबले एसियाली फुटबल महासंघ (एएफसी) को क्लब लाइसेन्स पाउन एएफसीका सबै मापदण्ड पालना गर्नुपर्छ । जसअनुसार ‘ए’ डिभिजन क्लबले महिला तथा उमेर समूहको टिम पनि बनाउनुपर्ने हुन्छ । यसैअनुसार काठमाडौंको संकटा क्लब महिलाको टिम बनाउने पहिलो प्राइभेट ‘ए’ डिभिजन क्लब बनेको छ । पहिलो चरणमा क्लबले ४२ खेलाडीलाई टुँडिखेलमा प्रशिक्षण दिइरहेको छ ।

नेपालमा १४ वटा ‘ए’ डिभिजन क्लब छन् । तर विभागीय क्लबहरु नेपाल पुलिस, त्रिभुवन आर्मी र एपीएफबाहेक कुनै पनि क्लबले एएफसीको फुटबल क्लबसम्बन्धी नियम पालना गरेका छैनन् । नियमअनुसार क्लबको आफ्नै मैदान, पुरुष, महिला तथा उमेर समूहको टिम, एकेडेमी, प्रशासनिक कार्य सञ्चालनका लागि आफ्नै कार्यालय, कर्पोरेट सामाजिक उत्तरदायित्व बहनजस्ता मापदण्ड तोकिएका छन् । तर नेपालका क्लबले यी मापदण्ड पालना गर्न सकेका छैनन् ।

‘ए’ डिभिजन क्लब संकटा भने लाइसेन्सको दीर्घकालीन बाटोमा अघि बढेको छ । संकटाले साागामा ३२ रोपनी भाडामा लिएर मैदान निर्माण गरेको छ । विभाग बाहेकका क्लबमध्ये पहिलोपटक महिला तथा उमेर समूहको टिम तयारीसमेत सुरु भएको सचिव आशिषमान सिंहले जानकारी दिनुभयो ।

संकटाले पहिलो चरणको छनोटमा ४२ खेलाडीलाई प्रशिक्षण दिइरहेको छ । उनीहरुलाई पाठ्यक्रममा आधारित रहेर वर्षौंसम्म प्रशिक्षण दिने क्लबको योजना छ । महिला खेलाडीले प्रशिक्षणको मौका नपाइरहेको अवस्थामा संकटाले यो अवसर जुटाएको खेलाडी आस्था विष्ट बताउनुहुन्छ ।

जति एकेडेमी र क्लबका टिम बन्छन्, उति नै राष्ट्रिय टिमको बेन्च पनि बलियो हुन्छ । संकटाको यो प्रयासले युवा खेलाडीहरुलाई फुटबलमा लाग्ने मौका मिलेको त छ नै, खेलाडीलाई महत्त्वाकांक्षीसमेत बनाएको अर्की खेलाडी प्रतिमा लिम्बूको भनाइ छ ।

फुटबलमै भविष्य देख्ने थुप्रै युवा खेलाडी अहिले प्रशिक्षणका लागि भौंतारिइरहेका छन् । एकेडेमी नहुँदा धेरैको रुचिको खेल, फुटबल खेल्ने मौका नै पाउन गाह्रो छ । अन्तर्राष्ट्रिय फुटबलमा पुरुषभन्दा धेरै सम्भावना बोकेको महिला फुटबलमा संकटाले जस्तै अन्य क्लबले पनि अभ्यास सुरु गर्न जरुरी छ ।


Image

प्रदीप लेखी

लेखी कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement