वेस्ट इन्डिज ‘ए’लाई जित्न नेपालले २१० रन बनाउनुपर्ने

फ्लेचले बनाएर अविजित ८४ रन
नेपाललाई सिरिज बराबरी गर्ने अवसर
वैशाख २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
वेस्ट इन्डिज ‘ए’लाई जित्न नेपालले २१० रन बनाउनुपर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले टी-ट्वेन्टी सिरिजको चौथो खेलमा नेपाललाई दुई सय १० रनको लक्ष्य प्रस्तुत गरेको छ । पाहुना टोली वेस्ट इन्डिजले निर्धारित २० ओभरमा तीन विकेट गुमार २ सय ९ रन बनाएको हो ।

त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा वेस्ट इन्डिजले आज पनि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । नेपालाले दोस्रो ओभरमा नै विकेट लिएर राम्रो सुरुआत गर्यो । प्रतीश जिसीले एलिक आथान्जेलाई पाँच रनमा आउट गराए । आथान्जे आउट हुँदा वेस्ट इन्डिजको खातामा ९ रन मात्र थियो । पावर प्ले सकिँदा पाहुना टोलीले एक विकेट गुमाएर ६० रन बनाएको थियो ।

१० औंभरको अन्तिम बलमा कुशल भुर्तेलले जानसन चार्ल्सलाई ५८ रनमा आउट गराए । ३० बलमै ५८ रन बनाएका जानसनको प्रहार डिप मिड विकेटमा रहेका दीपेन्द्रले क्याच गरेका थिए । कुशलले नै केइसी क्यार्थीलाई चार रनमा आउट गरे । क्यार्थीको प्रहार कप्तान रोहितले क्याच गरेका थिए ।

३७ बलमा आन्द्रे फ्लेचले अर्धशतक बनाउँदा वेस्ट इन्डिजले एक सय ४० रन पूरा गरेको थियो । उनले ५४ बदलमा ९ चौका र ४ छक्काको सहयोगमा अविजित ८४ रन बनाए । पाँचौ नम्बरमा मैदान प्रवेश गरेका फायबियन एलनले पनि ३३ रनको योगदान गरे ।

नेपालका कुशल भुर्तेलले दुई विकेट लिँदा बाँकी बलरले सम्झनलायक प्रदर्शन नै गरेनन् । प्रतीश जिसीले एक विकेट लिए तर चार ओभरमा ४३ रन खर्च गरे । ललित राजवंशीले ५३ र अभिनाष बोहराले ४३ रन खर्चिएका थिए । यी खेलाडी नेपालको लागि महँगा साबित भए ।

नेपाली टिममा प्रशिक्षक मोन्टी देशाईले करण केसी, सागर ढकाल, कमल सिंह ऐरीलाई आराम दिएका छन् । नेपाल, पुनरागमनको लक्ष्यसहित आज चौथो टि-ट्वेन्टी खेलमा जवाफी ब्याटिङ गरिरहेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.