स्वास्थ्य क्षेत्रमा देखिएका नयाँ-नयाँ चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

वैशाख १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्वास्थ्य क्षेत्रमा देखिएका नयाँ-नयाँ चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताउनुभएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले स्वास्थ्य क्षेत्रमा देखापर्ने समस्या समाधान गर्न विशेष ध्यान पुर्‍याउन जोड दिनु भयो ।

'स्वास्थ्य क्षेत्रमा आउन सक्ने जस्तोसुकै चुनौतिको सामना र व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्नुपर्छ,' प्रधानमन्त्री दाहालले भन्नुभयो,'अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिइनेछ ।'

प्रधानमन्त्रीले ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारका लागि दक्ष तथा सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित चिकित्सक उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले सबै सार्वजनिक अस्पतालको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्री दाहालले स्वास्थ्य सेवामा सबैको पहुँच, सेवाको गुणस्तरीयताका साथै समुदायमा मानव स्वास्थ्यलाई प्रभाव पार्ने सामाजिक, सांस्कृतिक, वातावरणीय कारकतत्त्व पहिचान सहितको विशिष्टिकृत स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिष्ठानले पहलकदमी लिनुपर्ने बताउनु भयो ।

प्रतिष्ठानले हाल स्थानीय सरकारसँगको सहकार्यमा स्वास्थ्य बीमा कार्यक्रम तथा समुदायमा आधारित सेवा प्रवाह गर्नु अनुकरणीय कार्य भएको प्रधानमन्त्रीको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो,'सबै नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्था, सामुदायिक अस्पताल एवं सरकारी अस्पतालहरूको क्षमता विकासमा ध्यान दिनै पर्दछ ।'


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.