मर्स्याङ्दी-काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

वैशाख १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
मर्स्याङ्दी-काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दी-काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसन उद्घाटन गरिएको छ ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका-८ मा निर्माण गरिएको सबस्टेसन परिसरमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रसारण लाइन तथा सबस्टेसन उद्घाटन गर्नुभएको हो । काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि २२०/१३२ केभी, ३२० एमभीए क्षमताको मातातीर्थ सबस्टेसन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि सबैभन्दा ठूलो सबस्टेसन हब हो ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले जलविद्युतको विकासमा गुणात्मक फड्को मारिरहेको तथ्याङ्कले नै पुष्टि गरिरहेको उल्लेख गर्दै देश विकासको युगतर्फ प्रवेश गरेकाले यसलाई सकारात्मक रूपमा लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

नेपालमा लगानीका लागि सबैभन्दा उपयुक्त क्षेत्र जलविद्युत नै भएको र यसको विकासका लागि सरकारले लिएको लगानीमैत्री नीतिका कारण स्वदेशी तथा विदेशी लगानीकर्ताहरूको आकर्षण बढ्दै गएको बताउँदै प्रचण्डले आजैबाट सुरु भएको लगानी सम्मेलनमा भएको विदेशी लगानीकर्ताहरूको सहभागिताले समेत यसलाई पुष्टि गरेको उल्लेख गर्नुभयो ।

उहाँले आर्थिक वर्षबाट बंगलादेशलाई पनि ४० मेगावाट विद्युत् निर्यात गर्न नेपाल, भारत र बंगलादेशका निकायहरुबीच त्रिपक्षीय सम्झौता छिट्टै हुन लागेको बताउनुभयो ।

प्रसारण लाइनलगायतका विकास आयोजनामा वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा देखिएको समस्या समाधान गरी आयोजनाहरू अगाडि बढाउन व्यवहारिक र विकास विरोधी नभए साधक बन्न सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘प्रसारण लाइन निर्माणमा वन क्षेत्रको प्रयोग, रुख कटान तथा जग्गा अधिग्रहणमा ठूलो समस्या रहेको छ । आयोजनाहरूको लागत र समय बढिरहेको छ । यसबाट एकतर्फ आयोजनाहरू महँगो बनिरहेका छन् भने अर्कोतर्फ जनताको विकासको चाहानालाई दूर धकेल्ने तथा वञ्चित गराउने कार्यहरू भइरहेका छन् यस्ता समस्या समाधान गर्न कतिपय अवस्थामा हामीले अन्तर्राष्ट्रिय मञ्चहरूमा जनाएका प्रतिबद्धतालेसमेत समस्या परिहेका छन् । तथापि, यसलाई कारण बनाएर विकास आयोजनाहरूको काम रोकिनु हुँदैन । विकास र पर्यावरण बीच सन्तुलन कायम हुने गरी योजनाहरु अगाडि बढाउन महत्त्वपूर्ण निर्णय गर्नै पर्ने छ ।’

विद्युत् प्रणालीमा देखिएको यस्तो प्रकारको मौसमी असन्तुलन हटाउन सरकारले १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना, १०६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना, ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाइसकेको उहाँले बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतले जनताको जलविद्युत कार्यक्रमअन्तर्गत सङ्घ, प्रदेश, स्थानीय तह तीन वटै सरकारको लगानी र आम नेपालको लगानीमा जलविद्युत आयोजनाहरूको निर्माण अगाडि बढाउन लागिएको बताउनुभयो । उहाँले विद्युत् उत्पादन, प्रसारण र वितरणको क्षेत्रलाई व्यवस्थित बनाउँदै लगिएको उल्लेख गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.