उपनिर्वाचन अपडेट : इलाममा मतगणनाको तयारी, बझाङमा मतपेटिका संकलन कार्य जारी

वैशाख १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
उपनिर्वाचन अपडेट : इलाममा मतगणनाको तयारी, बझाङमा मतपेटिका संकलन कार्य जारी

काठमाडौं । इलाम प्रतिनिधिसभा-२ र बझाङ प्रदेशसभा-१ मा उपनिर्वाचन अन्तर्गत हिजो भएको मतदानको मतगणना आज हुने भएको छ । इलाम-२ का सबै केन्द्रका मतपेटीका संकलन भइसकेका छन् । अहिले केहीबेरमा सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ । बझाङमा भने आज दिउँसोसम्ममा सबै मतपेटिका संकलन गरेपछिमात्र गणनाको तयारी गरिने छ । इलाममा ६० र बझाङमा ५० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । यो अपेक्षितभन्दा कम मतदान हो ।

दुवै निर्वाचन क्षेत्रमा हिजो बिहान सात बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो । इलाम-२ मा ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। आयोगले दुवै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ ।

मतगणना सुरू भएको १२ घण्टाभित्र अन्तिम परिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ । १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको इलाम-२ मा १ सय ४९ वटा मतदान केन्द्रमा मतदाताले मतदान गरे ।  इलाम-२ मा अघिल्लो निर्वाचनमा ६२ प्रतिशत मत खसेको थियो ।

५० प्रतिशत मत खसेको बझाङ प्रदेशसभा-१ को मतगणना आज दिउँसोबाट मात्र हुने भएको छ । आज दिउँसोसम्ममा मतपेटिका संकलन गरिसक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

बझाङको सैपाल गाउँपालिकाका तीनवटा केन्द्र बाहेक अरू सबै मतदान केन्द्रको मतपेटिका हिजो रातिसम्ममा सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकिएको छ । सैपालका तीनवटा केन्द्रको मतपेटिका भने आज बिहान हेलिकोप्टरबाट ढुवानी गर्ने निर्वाचन कार्यालयले जनाएको छ। सबै मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी छ। 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.