हुम्ला । शैक्षिक सत्र सुरु भएको डेढ महिना भइसक्दा पनि हुम्लामा पूर्ण रुपमा पाठ्यपुस्तक पुग्न सकेको छैन ।
हिमाली जिल्लामा फागुन २ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भए पनि हुम्लाका सातवटै स्थानीय तहमा अझै सबै पाठयपुस्तक पुगेको छैन । आवश्यक पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ प्रभावित भएको छ । पाठ्यपुस्तक नपाउँदा पठनपाठनमै समस्या भएको शिक्षक तथा विद्यार्थीको गुनासो छ ।
हुम्लामा समयमा पाठ्यपुस्तक नपुग्नु सधैंको समस्या हो । तीनै तहका जनप्रतिनिधि तथा सरकारी अधिकारीहरुले हरेक वर्ष शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक पुर्याउने प्रतिबद्धता जनाए पनि कार्यान्वयन भने हुन सकेको छैन । हुम्लामा मात्रै होइन कर्णालीका उच्च पहाडी तथा हिमाली जिल्लामा समयमै पाठ्यपुस्तक नपाउने समस्या छ ।