मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिँदैन : शिक्षामन्त्री श्रेष्ठ

चैत्र ९, २०८० |कान्तिपुर टीभी संवाददाता
मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिँदैन : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया नरोकिने जनाएकी छन् ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शुक्रबार उनले मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया नरोकिने जनाएकी हुन् । बैठकमा नेकपा एमाले सांसद विद्या भट्टराईले दुई विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको भन्दै कसरी काम अगाडि बढिरहेको छ भनेर मन्त्री श्रेष्ठसँग जवाफ मागेकी थिइन् ।

सांसद भट्टराईको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले विश्वविद्यालयको उपकुलपति छनोटको मापदण्ड कडा भएको आवाज आएकाले प्रक्रिया रोकिएको जानकारी दिइन् । उनले आफू सहकुलपतिको हैसियतले सर्च कमिटीमा पनि भएको स्पष्ट पारिन् । अध्ययनमा बढी नम्बर दिनुपर्छ भनेर प्रधानमन्त्रीलाई आग्रह गरिएको भन्दै सोहीअनुरुप अगाडि बढ्ने र प्रक्रिया नरोकिने जानकारी दिइन् ।

‘सुदूर र मध्यपश्चिम विश्वविद्यालयको मापदण्ड कडा भयो भनेर आवाज उठेकाले रोकिएको थियो । आज चिकित्सा शिक्षा आयोगको बिहान बालुवाटारमा बैठक थियो । त्यो दुईवटा विश्वविद्यालयको सर्च कमिटीमा म सहकुलपतिको हैसियतले छैन । त्यसको नेतृत्व यूजीसीको अध्यक्षले गर्दै हुनुहुन्छ । र प्रधानमन्त्रीज्युलाई अनुरोध गरेर विश्वविद्यालयको लिडबाट अध्ययनमा बढी नम्बर दिनुपर्छ भनेर कन्भिन्स् पनि गरिरहेका छौं,’ उनले भनिन्, ‘त्यहीअनुरुप हामी अगाडि बढ्छौं । त्यसका लागि अब रोकिँदैन ।’

मन्त्री श्रेष्ठले नर्सिङ शिक्षामा देखिएका समस्या समाधानका लागि जिम्मेवार निकायहरुसँग बैठक गर्ने र आवश्यक कदम चाल्ने पनि प्रतिबद्धता जनाइन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement