मनलाग्दी सिमकार्ड वितरण : आपराधिक काममा अवैध सिमको प्रयोग बढ्दो, छैन नियमन

वैशाख १५, २०८१ |जितेन्द्र झा
मनलाग्दी सिमकार्ड वितरण : आपराधिक काममा अवैध सिमको प्रयोग बढ्दो, छैन नियमन

तपाईंहरुसँग कति वटा सिमकार्ड छ ? एउटा या दुईवटा ? प्रमुख सेवा प्रदायकका २ वटा सिमकार्ड भए तपाईंहरुको काम चल्ला । तर, सयौं सिमकार्ड लिने पनि हुन्छन्, जसको दुरुपयोग उनीहरुले अपराधका लागि गरिरहेका हुन्छन् । नागरिकता र फोटोको दुरुपयोग गरेर होस् वा विक्रेतालाई लोभ्याएर, सिमकार्डको अवैध खरिद जारी छ । ग्राहक पाउने लोभमा टेलिकम सेवा प्रदायक कम्पनीले सिमकार्डको अवैध बिक्री रोक्न सकेका छैनन् । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले पनि यसप्रति आँखा चिम्लेर बसिरहेको छ ।

सिमकार्ड दुरुपयोगका यी केही उदाहरण हेरौं-

- २०८० फागुन दोस्रो साता अवैध रुपमा कल बाइपास गर्ने दुई जना पोखराबाट पक्राउ परे । उनीहरुबाट झण्डै ६ सय वटा सिमकार्ड बरामद भयो । कल बाइपासका लागि उनीहरुले यति धेरै सिम प्रयोग गरेका थिए ।

- २०८० जेठमा चिनियाँ नागरिक ३२ वर्षीय झाओ जियाङपेङ र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी घर भई काठमाडौं महानगरपालिका-१६, सोह्रखुट्टे बस्ने २२ वर्षीय गणेश श्रेष्ठबाट ३ हजार ७ सय वटा सिमकार्ड बरामद भयो ।

- २७ सय सिमकार्डसिहत पक्राउ परेका मिलन थापाले चर्को दरमा ब्याजको कारोबार गर्ने गरेका थिए । उनीबाट २७ व्यक्तिका नागरिकता पनि बरामद भएको थियो ।

- काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका-६ का सरोज दिवालीले बैंकिङ ठगीका लागि अर्कै व्यक्तिको नामबाट सिमकार्ड निकाले । बैंकिङ एप चलाएर ६ लाख रुपैयाँ झिके ।

- सर्लाहीको मलंगवाबाट प्रहरीले हालसालै अनलाइन जुवा खेलाउने गिरोहका मुख्य व्यक्ति सञ्जयकुमार साहलाई पक्राउ गर्‍यो । उनले 'अनलाइन बेटिङ' भनिने सट्टेबाजीमा ५७ करोडको कारोबार गरेका थिए । उनीसँग २१ वटा सिमकार्ड बरामद भएको थियो भने उनले कनेक्ट आइपीएसका २१ र बैंकका ९८ वटा खाता चलाएको पाइएको थियो ।

कलबाइपास, बैंकिङ ठगीजस्ता साइबर अपराधमा संलग्न व्यक्तिहरुसँग सयौं सिमकार्ड बरामद हुने गरेका घटना भइरहन्छन् । उनीहरुले आफ्नो परिचय, ठेगाना लुकाउन पनि अन्य व्यक्तिका नाममा सिमकार्ड निकालेर प्रयोग गर्ने गरेका छन् । पक्राउ परिहाले अर्काको नाममा भएको सिमकार्डका आधारमा कारबाहीबाट बँच्न पनि सीमकार्डको अवैध धन्दा फस्टाएको छ ।

साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थी भन्नुहुन्छ, 'साइबर ठगीका घटनामा सिमकार्डको दुरुपयोग भएका कुरा आइरहन्छ । ठगिने व्यक्तिपिच्छे फरक-फरक मोबाइल नम्बर प्रयोग गरेर सम्पर्क गर्ने गरिएको देखिएको छ । परिचय नखुलोस् भनेर एउटा प्रयोजनका लागि एउटा सिमकार्ड प्रयोग गर्ने प्रवृत्ति देखिएको छ । जसले गर्दा अपराध गर्नेको लोकेशन पत्ता लगाउन, परिचय खुलाउन पनि समस्या हुन्छ ।'

सिमकार्ड दुरुपयोगका घटनामा फेला पर्ने अधिकांश सिमकार्ड एनसेलकै हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । नेपाल टेलिकम र एनसेलले विक्रेतामार्फत् सिमकार्ड बेच्ने गरेका छन् । बजारमा यी दुवै सेवा प्रदायकबीच प्रतिस्पर्धा छ । यही होडबाजीमा सिमकार्ड बिक्रीमा चरम लापरबाही छ । सिमकार्डको बेथितिबारे बोल्न एनसेल र नियामक दूरसञ्चार प्राधिकरण सम्पर्कमा आउन चाँहदैनन् । हामीले एनसेल र प्राधिकरणका अधिकारीलाई यो विषयमा प्रतिक्रिया दिन आग्रह गर्यौं । दुवै संस्थाका अधिकारीले इमेलबाट प्रश्न मागे, तर जवाफ दिएनन् ।

नेपाल टेलिकम र एनसेलको नियमन गर्ने अधिकार दूरसञ्चार प्राधिकरणसँग छ । तर, सिमकार्ड जथाभावी बाँडिदा पनि प्राधिकरणले अनुगमन गर्न उचित ठानेको छैन । प्राधिकरणका प्रवक्ता सन्तोष पौडेल यस विषयमा आफूलाई कुनै जानकारी नभएको भन्दै पन्छिनु भयो । टेलिकमले भने अब सिमकार्ड बिक्रीको तथ्याङ्क कम्प्युटरमा राख्न सुरु गरिएकाले दुरुपयोग क्रमशः रोकिने दाबी गरेको छ ।

नेपाल टेलिकमका प्रवक्ता हरि ढकालको भनाइ छ, 'पहिला सिमकार्ड दुरुपयोगका घटना धेरै हुन्थे । कागजी रुपमा तथ्यांक हुन्थ्यो । अहिले सिमकार्ड किन्नेहरुको तथ्यांक कम्प्युटरमा राख्ने गरेका छौं । त्यसले सिमको दुरुपयोग घट्न थालेको छ । यो विस्तारै कम हुँदै जान्छ । हामीले कम्प्युटर प्रणालीबाटै एउटा व्यक्तिले धेरैवटा सिमकार्ड लिएमा थाहा पाउन सक्छौं ।'

सिमकार्डको दुरुपयोग गरेर अवैध भीओआईपी कारोबार हुन थालेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले २०८० असारमा सिमकार्ड बिक्री गर्नेहरुलाई समेत पक्राउ गरेको थियो । सीआईबीले दूरसञ्चार प्राधिकरण र सेवा प्रदायक टेलिकम तथा एनसेललाई सिमकार्ड बिक्री जथाभावी नगर्न ध्यानाकर्षण गराएको थियो । तर, प्राधिकरणले सूचना जारी गर्नेबाहेक केही गरेन । प्राधिकरणको गैरजिम्मेवारी र सेवा प्रदायकको चरम लापरबाहीकै कारण एक जनासँग सयौं सिमकार्ड भेटिने गरेको अपराध अनुसन्धानमा अनुभवी प्रहरी अधिकारीको भनाइ छ ।

'हामीले सीआईबीबाट भीओआईपी कारोबारको अनुसन्धानका क्रममा पनि सिमकार्ड दुरुपयोगका धेरै घटना फेला पारेका थियौं । नागरिकता प्रमाणपत्रको दुरुपयोग गरेर पनि सिमकार्ड निकाल्ने गरिएको पाइन्छ,' पूर्वडीआइजी, नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी भन्नुहुन्छ, 'दूरसञ्चार सेवा दिने कम्पनी यसमा गैरजिम्मेवार देखिए नै, नियमन गर्ने दूरसञ्चार प्राधिकरणले पनि कुनै अनुगमन गर्ने गरेको देखिँदैन । दूरसञ्चार प्राधिकरणको खाली ठेक्कापट्टामा रुची देखियो । यस्तो बेथिति रोक्न उसको भूमिका नै देखिएन ।'

जसले जसको नागरिकता लिएर गए पनि चाहे जति सिमकार्ड निकाल्न सक्ने भएकाले सिमकार्ड अपराधीको हातमा पुग्ने गरेको छ । चिनियाँ ह्याकर समूहले एनसेलका सय वटा सिमकार्ड एकै व्यक्तिबाट लिएका घटनासमेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रतिसिमकार्ड ५० रुपैयाँ बढी दिएर त्यो किनिएको थियो । यो घटनाले विदेशीले पनि चाउचाउ जस्तै सिमकार्ड किन्न सक्ने अवस्था रहेको देखाउँछ । नागरिकता र फोटोको आधिकारिकता जाँच्ने र एकै जनाको नामबाट धेरैवटा सिमकार्ड जारी भएमा निगरानी गरे मात्र पनि अवैधानिक रुपमा सिमकार्डको खरिद-बिक्री रोक्न सकिन्छ । तर, ग्राहक बढाउने होडबाजीमा लागेका कम्पनीले यसतर्फ आँखा चिम्लिएका छन् भने नियामकले पनि मनपरी गर्न छुट दिएको छ ।


Image

जितेन्द्र झा

झा कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।