काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले रेशम चौधरी हत्या मुद्दामा दोषी ठहर भएकाले आफ्नो पार्टीको अध्यक्ष बन्न अयोग्य रहेको जवाफ सर्वोच्च अदालतलाई दिनुभएको छ ।
रेशम चौधरीले आफूलाई अध्यक्ष बनाउन माग गर्दै दिएको रिटमा सर्वोच्च अदालतले विपक्षी श्रेष्ठसँग मागेको लिखित जवाफमा अध्यक्ष श्रेष्ठले टीकापुर प्रकरणमा व्यक्ति हत्याको अभियोगमा दोषी ठहर भएकाले चौधरीको माग बदरभागी रहेको जिकिर गर्नुभएको हो । सर्वोच्चले रेशमको मागअनुसारको आदेश किन जारी नगर्ने भन्ने कुराको लिखित जवाफ बुझाउन विपक्षीहरूलाई आदेश दिएको थियो ।
जवाफमा कानुनले नैतिक पतन देखिने फौजदारी अभियोगमा दोषी ठहर भएर सजाय पाएका व्यक्तिलाई राजनीतिक दलको अध्यक्ष हुन रोकेको पनि श्रेष्ठको भनाइ छ । चौधरी राजनीतिक दलसम्बन्धी ऐनले दलको सदस्यता हुनसमेत नदिने श्रेष्ठको जिकिर छ ।
त्यसो त निर्वाचन आयोगले फागुन २४ गते नाउपा अध्यक्ष रेशम चौधरी रहेको विवरण अद्यावधिक गर्न अस्वीकार गरेको थियो । त्यस्तै चौधरी आयोजक समिति अध्यक्ष भएर गरेको महाधिवेशन पनि स्वीकार गरेको थिएन । श्रेष्ठ र चौधरी पति-पत्नी हुन् ।