भारतमा लोकसभा चुनाव : २१ राज्यमा मतदान, छत्तीसगढ, मणिपुर र पश्चिम बंगालमा झडप

६० प्रतिशत मत खस्यो : निर्वाचन आयोग
वैशाख ७, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
भारतमा लोकसभा चुनाव : २१ राज्यमा मतदान, छत्तीसगढ, मणिपुर र पश्चिम बंगालमा झडप

काठमाडौं । भारतमा १८औं लोकसभाका लागि आज (शुक्रबार) भएको निर्वाचनमा ६० प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगका अनुसार साँझ ५ बजेसम्ममा झन्डै ६० प्रतिशत मतदान भएको हो । लोकसभाको ५४३ सिटका लागि सात चरणमा चुनाव तय भएकामा आज पहिलो चरणमा एक सय दुई सिटका लागि मतदान सम्पन्न भएको हो ।

सबैभन्दा बढी पश्चिम बंगालमा ७८ तथा त्रिपुरामा ७६ प्रतिशत मतदान भएको छ भने सबैभन्दा कम बिहारमा ४६ प्रतिशत मतदान भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मतदान आगामी १ जुनसम्म चल्नेछ भने ४ जुनमा मतगणना गरिनेछ । अन्यत्र शान्तिपूर्ण भए पनि मतदानका क्रममा मणिपुर, पश्चिम बंगाल र छत्तिसगढमा भने हिंसाका केही घटना भएका छन् । राजस्थानमा पनि फर्जी मतदानलाई लिएर झडप भएको थियो ।

आज पहिलो चरणमा २१ राज्यको एक सय दुई सिटका लागि मतदान भएको हो । उत्तर प्रदेशको आठ, बिहारको चार, मध्य प्रदेशको ६, राजस्थानको १२, उत्तराखण्डको पाँच, पश्चिम बंगालको तीन, असमको चार, मेघालयको दुई, अरुणाचलको दुई, मणिपुरको दुई, महाराष्ट्रको पाँच, र तमिलनाडुको ३९ सिटमा मतदान सम्पन्न भएको छ । यस्तै छत्तीसगढ, मिजोरम, नागाल्यान्ड, सिक्किम, त्रिपुरा, जम्मु कश्मीर, अन्डमान निकोबार टापु, लक्षद्वीप, र पुडुचेरीका एक-एक सिटमा मतदान भएको छ ।

आज मतदान भएका एक सय दुई सिटका लागि एक हजार ६ सय २५ उम्मेदवार प्रतिस्पर्धामा छन् । लोकसभा निर्वाचनसँगै चार राज्य आन्ध्रप्रदेश, ओडिसा, सिक्किम र अरुणाचल प्रदेशमा विधानसभा निर्वाचनका लागि समेत मतदान भएको छ ।

पहिलो चरणमा १६ करोड ६३ लाखभन्दा बढी मतदाता थिए । अर्को चरणको मतदान भने २६ अप्रिलमा हुनेछ ।



Enter Kantipur TV HD
Advertisement