अन्तर्राष्ट्रिय समुदायको दबाबकाबीच गाजामा सैन्य कारबाहीलाई निरन्तरता दिने इजरायलको चुनौती

कारबाही अघि बढे मानवीय प्रकोप निम्तिने विश्व स्वास्थ्य संगठनको चेतावनी
वैशाख २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
अन्तर्राष्ट्रिय समुदायको दबाबकाबीच गाजामा सैन्य कारबाहीलाई निरन्तरता दिने इजरायलको चुनौती

काठमाडौं । विश्व स्वास्थ्य संगठनले इजरायलले गाजा सहर रफाहमा सैन्य कारबाही अगाडि बढाए मानवीय प्रकोप निम्तिन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले गाजा क्षेत्रमा सैन्य कारबाही नगर्न अपिल गर्दै कारबाही नरोकिए मानवीय प्रकोप निम्तिने भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

अन्तर्राष्ट्रिय समूदायको निरन्तर दबाबका बाबजुद इजरायलले रफाहमा सैन्य कारबाही गर्ने अडान राखेपछि स्वास्थ्य संगठनका महानिर्देशकको यो भनाइ बाहिर आएको हो । साथै उनले सबै पक्षलाई युद्धविराम र दिगो शान्तिका लागि अग्रसर हुन आग्रह समेत गरेका छन् । एनले हिजो युएनआरडब्लूएका प्रमुख फिलिप लाजारिनिसँगको भेटवार्तामा मानव निर्मित भोकमारी र इजरायलले गाजामा भित्रिने सहायतालाई अवरोध पुर्‍याए यसले महामारीको रुप समेत लिने बताए ।

इजरायलले उत्तरी नाकाबाट सहायतालाई गाजा भित्रिने अनुमति दिए पनि उसले निरन्तर सहायता भित्रिनेमा अवरोध गरिरहेको बताइएको छ । रफाहमा ६० हजार बालबालिकाहरु युद्धको चपेटमा परेको र तत्कालै आवश्यक सहयोग नपुगे त्यस क्षेत्रका बालबालिकाको अवस्था भयावह हुने युनिसेफको प्रमुखले क्याथरिन रसलले चिन्ता व्यक्त गरेका छन् ।

अक्टोबर ७ यता ३४ हजार ५ सय ६८ प्यालेस्टिनीको मृत्यु भइसकेको छ भने ७७ हजार भन्दाबढी घाइते भएका छन् । हमास र इजरायलबीच युद्धविरामको पहल भएपनि तत्काल टुङ्गो लागेको छैन् । गाजा युद्धको विरोध र प्यालेस्टिनीको पक्षमा भइरहेको प्रदर्शनका कारण अमेरिकाका थुप्रै विश्वविद्यालयमा अध्ययन-अध्यापनमा नराम्ररी प्रभावित भएको छ । युद्धविरामा गर्नुपर्ने जोडदार मागसहित विश्वविद्यालयहरुमा निरन्तर प्रदर्शन भइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.