मैथली फिल्म ‘लेबर’ घोषणा

वैशाख २०, २०८१ |जितेन्द्र झा
मैथली फिल्म ‘लेबर’ घोषणा

काठमाडौँ । ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराका साथ विश्वभर मानाइदै गरेको एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर निर्देशक पुर्णेन्दु के झाले फिल्म ‘लेबर’को घोषणा गर्नुभएको छ ।

पुर्णेन्दु प्रोडक्सन्स प्रालि र अरिपन फिल्म्स प्राइभेट लिमिटेडको संयुक्त ब्यानरमा निर्माण हुने फिल्ममा बिदेसिन  बाध्य नेपाली र बिदेसिन बाध्य बनाइने नेपालीको कथालाई प्रस्तुत गरिने औपचारिक घोषणा गर्न आयोजित कार्यक्रम बताइयो । काठमाडौं सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफमा आयोजित घोषणा तथा टिजर सार्वजनिक कार्यक्रममा निर्देशक झाले यसले लेबर र सरकारबीचको कथा भन्ने बताउनु भयो ।

‘हाम्रो देशबाट लेबरको काममा बिदेसिनेको सङ्ख्या बढी छ । उनीहरूको आ–आफ्नै कथा छ । ती कथालाई पर्दामार्फत धेरै व्यक्तिसम्म पुर्‍याउनु पर्छ भन्ने लागेर हामीले फिल्म निर्माण गर्दै छौँ’, निर्देशक झाले भन्नुभयो । उहाँले फिल्मलाई मैथली भाषामा तयार गर्दै हुनुहुन्छ । यद्यपि फिल्म नेपाली र भोजपुरीमा पनि स्वराङ्कन गरेर प्रदर्शन गरिनेछ ।

‘हामीले बाहिर त बजार बनायौँ तर नेपालमै मधेशमा स्वदेशी फिल्मलाई दर्शकले साथ दिएका छैनन् । यसकारण पनि विविध भाषामा तयार गरेर यसलाई प्रदर्शन गर्ने तयारी गरिरहेका छौँ’,  झाले भन्नु भयो । सतेन्द्र झा, संजय साह, शेरू खान, शिखा ठाकुर, नारन अधिकारी, रमेश रञ्जन, धिरेन्द्र प्रेमर्षी र लक्ष्मी ठाकुर सह–निर्माता रहेको फिल्मलाई निर्देशक झासँगै नरेश मिश्राले लेख्नुभएको छ ।

उत्पल झा, राम भजन कामत, राजेश सक्सेना, राकेश यादव, जयनाथ अधिकारीलगायतका कलाकार अहिले तय भएको र अन्य कलाकार छिटै घोषणा गरिने निर्देशक झाले बताउनु भएको छ । कलाकार उत्पल झाले यस फिल्मलाई लिएर आफू निकै उत्साहित रहेको बताए । ‘हामीले फिल्मलाई विषय प्रधान बनाउन थालेका छौँ । यसमा मिथिलासँगै नेपालभरका दर्शकले हेर्ने कथा छ’, कलाकार झाले भन्नुभयो ।

कार्यक्रममा पूर्व राजदूत सूर्यनाथ मिश्र, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, कलाकार रवीन्द्र झा, नेपाल चलचित्र सङघका अध्यक्ष नरेन्द्र महर्जन, निर्देशक गणेशदेव पाण्डे, लेखक समीप्याराज तिमल्सेनालगायतको उपस्थिति थियो ।


Image

जितेन्द्र झा

झा कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।