प्रमुख दलहरु चुनावी घोषणापत्र बनाउन व्यस्त

आश्विन १७, २०७९
प्रमुख दलहरु चुनावी घोषणापत्र बनाउन व्यस्त

सत्ताको नेतृत्व गरेको दल नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र लेखनको काम अगाडि बढाएको छ । दसैंका बेला पनि सबै सहमहामन्त्री र अन्य सदस्य घोषणापत्रको काममा व्यस्त छन् । कांग्रेसले तयार गर्न थालेको घोषणापत्रको मस्यौदामा पार्टीको इतिहास, विगतमा पार्टीका तर्फबाट गरिएको आर्थिक सामाजिक उपलब्धि समेटिएको छ । त्यतिमात्र होइन, आगामी दिनमा मुलुकलाई समृद्धिको बाटोमा लैजाने र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका नयाँ योजना पनि घोषाणपत्रमा समेट्ने तयारी छ । 

अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति गठन गरेको नेकपा एमालेले पाँच वर्षभित्र टुङ्ग्याउन सक्ने योजना राखेर मस्यौदा लेखिरहेको छ । यसपटक शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने योजना एमालेको छ ।

माओवादी केन्द्रले पनि पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणाकाजी श्रेष्ठको संयोजकत्वमा घोषणापत्र बनाउन समिति बनाएको छ । समितिले शिक्षा, स्वास्थ्य र रोजगारीलगायतका विषयलाई १२ वटा खण्डमा समावेश गरेर मस्यौदा तयार पार्दैछ । 

सत्ता घटक नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँगै विपक्षी लोकतान्त्रिक समाजवादी पार्टीले पनि घोषणापत्र बनाउने काम अन्तिम चरणमा पुगेको बताउँदै दसैँपछि सार्वजनिक गर्ने तयारी गरेका छन् । उनीहरुले घोषणापत्रमा संघीयता, लोकतन्त्र र समृद्धिलाई प्राथमिकतामा राखेका छन् । अन्य दल र स्वतन्त्र उम्मेदवारी दिने तयारी गरिरहेकाहरु पनि आफ्नो प्रतिबद्धतापत्र बनाउन जुटेका छन् । 

त्यसो त राजनीतिक दलहरुले निर्वाचन परिणामपछि आफ्नै प्रतिबद्धता भुल्दै आएका छन् । जसले गर्दा दलहरुले व्यक्त गर्ने प्रतिवद्धतामा आममानिसले आंशकाको दृष्टिले हेर्ने गरेका छन् ।