धार्मिक परम्पराअनुसार आज घरघरमा फूलपाती भित्र्याइयो

आश्विन १६, २०७९
धार्मिक परम्पराअनुसार आज घरघरमा फूलपाती भित्र्याइयो

बडा दसैँको सातौं दिन, आज फूलपाती । धार्मिक परम्पराअनुसार आज घरघरमा फूलपाती भित्र्याइयो । काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा पनि परम्परागत रुपमा हर्षबढाइँ गरी गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ । 

गोरखा दरबारबाट ल्याइएको फूलपाती धार्मिक विधिपूर्वक काठमाडौँको हनुमानढोकास्थित दशैँघरमा भित्र्याइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गा भवानीलाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभसाइतमा फूलपाती भित्र्याईने परम्परा छ । परम्परागत बाजाका साथ गुरुज्यूको पल्टन, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाजाका साथ लावालस्करको सहभागितामा ल्याएको फूलपातीलाई हर्षबढाइँका साथ हनुमानढोका भित्र्याइएको हो । हनुमानढोका दशैँघरका मूलपुजारीबाट विशेष धार्मिक विधिपूर्वक मन्त्रउच्चारणका साथ पुजा गरिपछि दसैँ घर लैजाने चलन छ ।  

पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा काठमाडौंलाई राजधानी बनाएपछि, गोरखाबाट फुलपाती ल्याउने र हर्षबढाइँ गर्ने चलन सुरु भएको हो । आश्विन शुक्ल सप्तमीका दिन फूलपाती स्वरूप उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, अशोकको फूल, दारिम, जयन्ती, फलफुल आदिका नयाँ पालुवालाई नवपत्र घरको पूजा कोठामा भित्र्याइने चलन छ । फूलपातीकै दिन दसैँघर तथा पूजा कोठामा कालरात्री देवीको विशेष पूजा आराधना गरिएको छ ।