नेपाल–चीन सिमा नाका तातोपानीको लिपिङ बजार सुनसान

आश्विन १६, २०७९
नेपाल–चीन सिमा नाका तातोपानीको लिपिङ बजार सुनसान

कुनै बेला चौबिसै घण्टा संचालन हुने नेपाल चीन सिमा नाकाको लिपिङ बजार अहिले सुनसान छ । तातोपानी, लिपिङ, खोकुण्डोल र चाकु बजारभन्दा सस्तो मुल्यमा सामान पाउने भएकाले कुनैबेला लिपिङ विभिन्न जिल्लाको प्रमुख व्यापारीक केन्द्र थियो ।

सिन्धुपाल्चोक, दोलाख, काभ्रे, रामेछाप, काठमाण्डौ र भक्तपुर लगायतका मानिस सामान खरिद गर्न तातोपानीको लिपिङ बजार पुग्थे ।  दशैका लागि सामान किन्नेहरुको घुइँचो हुने र अर्बौको आर्थिक करोबार हुने लिपिङ बजार यसपाली दशैंमा भने सुनसान छ । 

त्यसो त भूकम्पपछि यहाँको व्यवसायिक रौनक हराएको हो । सात वर्षअघिसम्म जिल्लाको चर्को व्यापारिक केन्द्र अहिले भने उराठलाग्दो छ । भुकम्पले क्षतविक्षत भएका घरहरुले यस क्षेत्रको भौगोलिक सुन्दरता पनि गुमेको छ । कुनै बेला निकै चहल पहल हुने लिपिङ बजार अहिले दुर्गम बस्ती झै लाग्छ । ठुलो सहरको रुपमा स्थापित भइसकेको बजार कसरी यो अवस्थामा आयो त ?  सात वर्षदेखि कठिनाइ झेल्दै आएका यहाँका बासिन्दाले कुनै न कुनै दिन पुरानै लयमा व्यवसाय फर्किने आशा भने छाडेका छैनन् ।