रुपन्देहीमा व्यापारिक मार्गको सर्भिस लेन मै हाटबजार सञ्चालन

आश्विन १६, २०७९
रुपन्देहीमा व्यापारिक मार्गको सर्भिस लेन मै हाटबजार सञ्चालन

सामान्यतया सडक, सवारी साधन गुडाउन तथा नागरिकको सहज हिडँडुलका लागि बनाइन्छ । तर, रुपन्देहीमा सडकमा आवतजावत रोकेर बजार सञ्चालन हुने गरेको छ । ओम सतिया गाउँपालिकाले लगाएको ठेक्कामा ठेकेदारले कार्य क्षेत्र मिचेर सडकमा हाट बजार सञ्चालन गर्दै आएको छ ।

रुपन्देहीको बुटवल-बेलहिया व्यापारिक मार्ग अन्तरगतको ओमसतिया गाउँपालिमा पर्ने दृश्य हो यो । सर्भिस लेनसँगै ठूटीपिपल हाट बजार छ । साताको २ दिन व्यापारिक मार्गको सर्भिस लेन ओगटेर हाट बजार सञ्चालन हुँदै आएको छ । सडकमा बजार सञ्चालन गर्दा गाउँपालिकाले तोकेको रकम व्यापारिले बुझाउँछन् । बजार गर्न आउने सेवाग्राहीले सडकमा सवारी साधन पार्किङ गर्दा समेत शूल्क बुझाउनु पर्छ ।

गाउँपालिकाले आर्थिक वर्ष ७९/८० का लागि ६९ लाखमा हाट बजारको ठेक्का सम्झौता गरेको हो । सम्झौतामा पार्किक शूल्क उठाउने कार्य गाउँपालिकाको कार्यालयबाट अनुमति नलिई गर्न नपाइने उल्लेख छ । गाउँपालिकाले पार्किङका लागि अनुमति नदिएको जनाएको छ । तर, बजारमा गाउँपालिकाकै नाम उल्लेख गरेर ठेकेदार जगतबहादुर पुनको समूहले रकम असुली रहेको छ । अवैध कृयाकलाप देखेर पनि स्थानीय सरकार रमिते बनेको छ । अवैधानिक कृयाकलाप रोक्न तथा शान्ति सुरक्षाकालागि बजारमा प्रहरी तैनाथ छन् । तर, भैरहेको अवैध असुली र सडक अवरोधका विषयमा प्रहरी प्रशासन किन मौन ? नियामक निकायको मौनताले स्थानीय वैकल्पीक सडकको प्रयोग गर्नु पर्ने बाध्यता छ ।