सत्तारुढ पाँच दल र नेकपा एमालेसहितको चुनावी समिकरण दुई ध्रुवमा

आश्विन १५, २०७९
सत्तारुढ पाँच दल र नेकपा एमालेसहितको चुनावी समिकरण दुई ध्रुवमा

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन हुन अब ५० दिन मात्रै बाँकी छ । मंसिर ४ गते हुने मतदानबाट जनमत आफ्नो पक्षमा पार्न राजनीतिक दल र आकांक्षी उम्मेदवारहरुले तयारी तिव्र पारेका छन् । सत्तारुढ पाँच दल र नेकपा एमालेसहितको चुनावी समिकरण दुई ध्रुवमा छ । तर अझै पनि गठबन्धनमा प्रत्यक्ष तर्फ सिटको किचलो हटेको छैन भने एमाले चुनावी सारथीको हिसाब किताबमै अल्झेको छ। 

सत्ता घटक पाँच दलले प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ १६५ र प्रदेश सभामा ३३० निर्वाचन क्षेत्रको सिट बाँडफाँट टुङ्गो लगाउन कार्यदल नै बनाएको डेढ महिना भैसक्यो । तर अझै पनि सहमति भैसकेको छैन ।  

चुनाव जित्न मात्रै अघि सारिएको गठबन्धनमा निर्वाचन पछि आफू कसरी बलियो बन्ने भनेर दाउपेच चलिरहेकै छ । कांग्रेसले प्रतिनिधि सभाका झण्डै ८७ सिट पाउने मोटामटी सहमति जुटेको छ । प्रदेशसभामा पनि उसकै हिस्सा बलियो हुनेछ । तर अन्तरसंर्घष व्यवस्थापन उसको चुनौति हो । 

सत्ता सहयात्री दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनाव घोषणा भएदेखि अहिलेसम्म गरेको क्रियाकलाप पनि कांग्रेससँगै मिल्दा जुल्दा छन् । चुनावबाट बढी सिट जित्ने माओवादीको दाउ र शक्ति आर्जन गर्ने एकीकृत समाजवादीको रणनीति गठबन्धनको वरिपरि घुमेको छ । चुनाव अघि नै पार्टी एकता गरेर दबाब बढाउने र संयु्क्त घोषणापत्र बनाउने यी दुई दलको चाहाना भने पुरा हुने देखिएन । 

सत्ता साझेदार जनता समाजवादी पार्टी भने कदर नभएको भन्दै सिट बाँडफाँटमा समेत असन्तुष्ट छ। 

२०७४ सालको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावबाट पहिलो दल बनेको नेकपा एमाले भने अहिले गबठन्धनको चेपुवामा परेको छ । गठबन्धन टुटाउने प्रयास सफल नदेखे पछि एमालेले अरु दलका असन्तुष्ट पक्षलाई साथमा लिने र लोकतान्त्रिक समाजवादी पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलसँग ठाउँ अनुसार तालमेल गर्ने रणनीतिमा छ ।